बिर्तामोड ।
नेपाली कांग्रेस झापाले समानान्तर समिति गठन गर्दै पार्टीहित विपरित कार्य गर्ने अनाधिकृत समिति एवं व्यक्तिले बोलाएको भेला तथा सभामा सहभागी नहुन नेपाली कांग्रेसका क्रियाशील सदस्य तथा शुभचिन्तकलाई अनुरोध गरेको छ ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले एक विज्ञप्ति जारी गर्दै गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेद्वार र केन्द्रीय निर्देशन अनुसार गठबन्धन दलको भागमा परेका स्थानमा बागी उम्मेद्वारी दिएका उम्मेद्वार, प्रस्तावक र समर्थकको साधारण सदस्यता समेत स्वतः खारेज हुने व्यवस्था सबैमा स्मरण गराएका हुन् ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा–४ को उपधारा १३ (ग) र कांग्रेस केन्द्रीय समितिको बैशाख १६ र १९ को परिपत्र अनुसार बागी उम्मेद्वार र प्रस्तावक र समर्थकको साधारण सदस्यता खारेज हुने व्यवस्था रहेको विज्ञप्तिमार्फत अवगत गराइएको छ ।
‘पार्टी अनुशासन, विधान र नीति निर्देशन विपरित गतिविधि गर्ने कारवाहीको सिफारिसमा परिसकेका त्यस्ता केही व्यक्तिहरुले १४ औं महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई चुनौति दिंदै विर्तामोड वडा नं. ९ मा समानान्तर समिति गठन गरि गतिविधि गर्ने दुस्साहस गरेको पाइएको हुँदा पार्टी हित विपरित कार्य गर्ने त्यस्ता अनाधिकृत समिति र व्यक्तिले बोलाएको भेला, सभाहरुमा सहभागी नहुन नेपाली कांग्रेसका सम्पूर्ण क्रियाशील सदस्य र शुभचिन्तकमा हार्दिक अनुरोध गर्दछौं’ –विज्ञप्तिमा भनिएको छ ।
पार्टीको केन्द्रीय निर्देशन अनुसार गत बैशाख २४ गते नै बागी उम्मेद्वार प्रस्तावक र समर्थकको सदस्यता खारेजीका लागि प्रमाणसहित केन्द्रीय कार्यालयमा सिफारिस गरिसकेको उल्लेख गर्दै विज्ञप्तिमा पार्टी अनुशासनमा रही संगठन निर्माणमा जुट्न कार्यकर्तालाई आव्हान गरिएको छ । कारवाहीको सिफारिसमा परिसकेका व्यक्तिको भुल भुलैया र उक्साहटमा नलाग्न पनि आम कार्यकर्तालाई विज्ञप्तिमार्फत अपिल गरिएको छ ।