शिवसताक्षी ।
झापाको पुरानो बजार मध्ये एक शिवगञ्ज बजारको स्वरुप परिवर्तन भएको छ । विगतका सरकारहरुको आँखा नपुगेर ओझेलमा परेको शिवगञ्ज बजार हाल प्रदेश सरकारको ३८ लाख ४० हजार र उपभोक्ता समितिको ९ लाख ६० हजार लागतमा स्वरुप परिवर्तन भएको हो ।
बजारमा प्रदेश नं. १ शहरी तथा भवन कार्यालय इलामबाट विनियोजित अनुदानबाट शिवगञ्ज बजारमा निर्माण भएको इन्टरलक ब्लक तथा पानीको ढल निकासको आइतवार (आज) उद्घाटन प्रदेश नं. १ का कृषिमन्त्री झलकसिंह दर्लामी (सन्देश) ले गरेका हुन् ।
उद्घाटन गर्दै मन्त्री दर्लार्मीले बजार निर्माण, चिस्यान केन्द्र निर्माण, पराम्भीक मल उत्पादन केन्द्र निर्माण गर्ने प्रदेश १ सरकारको नीति तथा कार्यक्रम उल्लेख भएकाले ती योजनाहरु शिवसताक्षीमा पनि अघि सारिएको बताए । उनले यसअघि झिलझिले बधशालालाई आधुनिकीकरण गर्न, शुक्रबारे बजार, मंगलबारे बजार, नयाँ बजार, ब्याङ्डाँडा बजारलाई प्रदेश सरकारबाट बजेट विनियोजन गरिसकेको पनि स्मरण गराए । मन्त्री दर्लामीले आगामी दिनमा सवै कृषि बजारहरुलाई ब्यवस्थित बनाउन पनि जोड दिए । सिंचाईका निम्ति आवश्यक बजेट नगरमा विनियोजित गरिने समेत मन्त्री दर्लामीले बताएका छन् ।
शिवसताक्षी नगरलाई आर्थिक केन्द्र बिन्दु बनाउन झापा गाउँपालिका र शिवगञ्ज जोड्न कनकाई नदीमा पुल निर्माण गर्न यसैबर्षदेखि शुरु गर्न प्रराम्भीक बजेट ५ करोड २५ लाख रुपैयाँ विनियोजन भइसकेको नेकपा (माओवादी केन्द्र) का शिसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराईले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा शिबसताक्षी नगर प्रमुख मेघाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष महेन्द्र भट्टराई वडाअध्यक्ष मनोज खुलाल, सिकिन पासवान, सामाजिक ब्यक्तित्व मिलन ढुंगाना, सुमन काफ्ले, रामबहादुर राई, कचाली ताजपुरिया लगायतको उपस्थित रहेकोे थियो । कार्यक्रम भिम बोहराको अध्यक्षतामा भएको थियो ।