काठमाडौं।

नेकपा एकीकृत समाजवादी (एस) ले आफ्नो पार्टीबाट सहभागी भएका मन्त्री फेर्न गरेको प्रस्ताव विवादमाथि बिवाद चर्किएको छ । विवादमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नै त्यसलाई अस्वीकार गरि दिएका छन् ।

बजेटको विषयमा संसदमा छलफल चल्दै गर्दा सम्बन्धित मन्त्रीलाई परिवर्तन गर्नु उचित नहुने भन्दै नेकपा एसका मन्त्रीहरुले प्रधानमन्त्री देउवासँग आग्रह गरेका थिए ।

त्यसपछि सोमबार बिहान यस बिषयमा छलफल गर्न शीर्ष नेताको बैठकमा अहिले मन्त्री फेर्दा अन्य दलमा पनि फेरबदलको दबाब बढ्ने र त्यसले सत्ता गठबन्धनको निरन्तरतामै समस्या उत्पन्न हुन सक्ने जोखिमबारे समीक्षा भएको थियो । त्यसको असर बजेट पारित गर्ने कार्यमै पर्न सक्ने देखिएपछि तत्कालका लागि मन्त्रिपरिषद् पुनर्गठन नगर्ने निष्कर्षमा प्रधानमन्त्री पुगेका हुन् ।

मन्त्री खतिवडाले भने संसदमा बजेटको विषयमा छलफल भैरहेको समयमा मन्त्री हेरफेर गर्ने विषयमा बजार हल्ला मात्रै भएको उल्लेख गरेका छन् ।

पर्यटनमन्त्री प्रेम आलेले पार्टीले गरेको भनिएको निर्णय अहिले कार्यान्वयन नहुने बताए । त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले पनि अब पार्टीका मन्त्रीहरुले निरन्तर काम गर्ने बताए । 

बालुवाटारमा सोमबार मन्त्री फेरबदल गर्ने निर्णय देउवाले कार्यान्वयन गर्न नमानेपछि अध्यक्ष नेपालले केही मन्त्रीहरुलाई बोलाएर छलफल गरेका छन् । छलफलमा अध्यक्ष नेपालले आफूले अन्यथा निर्णय नगरेको भन्दै काममा निरन्तरता दिन आग्रह गरेको एक मन्त्रीले बताए ।