बिर्तामोड । 

नेकपा (एकीकृत समाजवादी) बिर्तामोड नगर कमिटीले स्थानीय तहको गत बैशाख ३० गते भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई बिर्तामोडमा देखा परेका समस्या समाधानका लागि आग्रह गर्दे ज्ञापन पत्र बुझाएको  छ । 

एसको तर्फबाट देखा परेका समस्या समाधानका लागि पार्टीको बिर्तामोड नगर कमिटीले  बुधवार (आज) बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई ज्ञापन पत्र बुझाइएको हो । 

बिर्तामोड नगरपालिकामा नयाँ नेतृत्वको रुपमा निर्वाचित भएर आएका  जनप्रतिनिधिहरुमा हार्दिक बधाई तथा शुभ कामना व्यक्त गर्दै एसका बिर्तामोड नगर अध्यक्ष श्रीप्रसाद सिटौला र सचिव कृष्ण बिष्टले समस्या र समाधानको ७ बुँदे ज्ञापन पत्र बुझाएका हुन् । 

समस्या समाधान गर्न दत्तचित्त भएर लाग्ने कुरामा आशाबादी भएको भन्दै समुन्नत, सभ्य र समृद्ध नगर निर्माण गर्न सकारात्मक भूमिका निर्वाह गर्न आग्रह समेत ज्ञापनपत्रमा गरिएको छ ।  

बिर्तामोड नगरपालिका फोहोर मैलाको ब्यवस्थापन जस्तो बिषयलाई निजी क्षेत्रलाई सुम्पिएर आफ्नो दायित्वबाट पन्छिएको ठहर गर्दै हालको ब्यवस्था खारेज गरेर नगरपालिकाकै संयन्त्रद्धारा फोहोर मैलाको ब्यवस्थापन गर्ने ब्यवस्था गर्न आग्रह गर्न भनिएको छ । साथै जनतालाई कर माथि कर थोपर्ने गरी फोहोर मैला उठाउने नाममा लिइने शुल्क तत्काल हटाउन आग्रह गरिएको छ । 

बिर्तामोडको सडक बिभागमा रहेको सरकारी जग्गामा सार्वजनिक शौचालय बनाउन सर्वपक्षिय छलफलको प्रारम्भ गरि तत्काल निर्माण कार्य थालनी गर्न, कृषि, पशुपालक किसानलाई मल, बिऊ समयमै उपलब्ध हुने वातावरण मिलाउन र कृषि बिमा, पशु बिमा जस्ता सहुलियत उपलब्ध गराउन तत्काल पहल साथै कृषि औजार र अन्य उपकरण प्रदान गर्न ज्ञापनपत्रमा भनिएको छ । 

त्यस्तै बिर्तामोडको नगर अस्पतालको निर्माण कार्यमा भइरहेको ढिलासुस्ती हटाएर निर्माण कार्यलाई तीब्रता दिनुपर्ने सो अस्पताललाई बिमाको केन्द्र बनाउन पहल थाल्नुपर्ने, सुकुम्बासी, भूमिहिन, घरबारबिहीनहरुको तथ्यांक लिएर भूमी आयोगसँगको समन्वयमा तत्कालै धनीपूर्जा बितरण गर्न पहल,  हाल भूमी आयोगमा पुर्याउनु पर्ने त्यस्ता फाइलहरु नगरपालिकामै थन्किएको भन्ने सूचना आएकोमा त्यसो भएको भए ती फाइल तत्काल आयोगमा पठाएर चाँडै सुकुम्बासीहरुलाई नगरबासी बनाउने अभियानको थालनी गर्न समेत आग्रह गरिएको छ । 

नगरपालिका जनप्रतिनिधी बिहीन भएको र मुलुक निर्बाचनमा होमिएको समयमा गरिएको निजी क्षेत्रका स्कुलहरुको मनपरी र हचुवा तरिकाले गरिएको शुल्क बृद्धि फिर्ता लिने ब्यवस्था गर्न र त्यसरी गरिएको निर्णय सार्वजनिक गर्दै पुनः सर्बदलीय, सर्वपक्षीय र अभिभावकहरुको बैठकद्धारा बैज्ञानिक तरिकाले शुल्क समायोजन गर्ने निर्णय गर्न तथा नगरका बिभिन्न क्षेत्रमा खानेपानी, बिजुलीको अझै पनि अभाव भएको भन्दै  त्यसका लागि यथोचित बजेटको ब्यवस्था गर्न आग्रह गरिएको ज्ञापनपत्र बुझाइएको छ ।