बिर्तामोड ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बिर्तामोड नगर इन्चार्ज युवराज दाहालले नैतिकताको आधारमा नगर इन्चार्जको जिम्मेवारीबाट राजिनामा दिएका छन् ।
नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसको संयुक्त गठबन्धनबाट उम्मेद्वार बनेका उम्मेद्वारहरु पराजित बनेपछि नैतिकताको आधारमा नगर इन्चार्जको जिम्मेवारीमा रहन नसक्ने भन्दै उनले उक्त जिम्मेवारीबाट राजिनामा दिएका हुन् ।
गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा ‘शर्मनाक’ पराजय भएको भन्दै त्यसको जिम्मेवारी लिँदै दाहालले पदबाट राजीनामा दिएका हुन् ।
उनले प्रदेश कमिटीका अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा पेश गरेका छन् । पार्टीको तर्फबाट उम्मेदवार भएका कसैलाई पनि निर्वाचित गर्न नसकिएको भन्दै उनले पदबाट राजीनामा दिएको बताएका छन् ।
नगर इन्चार्जको जिम्मेवारीबाट राजिनामा दिएपनि पार्टीको आन्दोलन, जनता र राष्ट्रको हितमा विगत २ दशकदेखिको यात्रामा कमी नहुने युवा नेता दाहालले बताएका छन् ।