हल्दीबारी ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट हल्दीबारी गाउँपालिका वडा नं. ४ वडाअध्यक्ष पदका उम्मेद्वार होमप्रसाद चुडाल यसअघिका वडाअध्यक्ष पनि हुन् ।
केही अपूरा र अधुरा काम सम्पन्न गर्न उनले फेरी सोही वडाबाट वडाअध्यक्षको उम्मेद्वारी दिएका छन् । पिता डिल्लीराम चुडाल र माता सरस्वता चुडालको माइलो छोराका रुपमा २०३० साल मंसीर २ गते हल्दीबारीको पानियाभिट्टा साविक जलथल–६ मा जन्मिएका नेता चुडाल कांग्रेसमा लोकप्रिय नेताको रुपमा परिचित छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका नेता चुडालले सरकारले दिएका सेवासुबिधा समेत फिर्ता गरेका थिए भने फेरी पनि निर्वाचित भए सरकारी सेवासुबिधा गरिब, दीनदुःखी र धार्मिक तथा सामाजिक कार्यमा प्रदान गर्ने बताएका छन् ।
बिद्यार्थी जीवनकाल २०४५ सालमा नेविसंघको हल्दीबारीको सचिव, २०५६ सालमा मेची क्याम्पस अध्ययन गर्दै २०५८ सालमा नेबिसंघ झापा सभापति भएका थिए । २०६३ सालदेखि पार्टीको सहसचिव भएका नेता चुडाल हाल उपसभापति छन् । उनले २०७४ को स्थानीय तहको निर्वाचनमा ७६८ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका थिए ।
चुडाल राजनीतिसँगै विभिन्न सामाजिक संघ÷संस्थामा समेत बादद्ध छन् । २०७२ सालमा नेपाल रेडक्रस सोसाईटी जलथल सचिव, किरातेश्वर गुरुकुल ब्यवस्थापन समितिका अध्यक्ष, जलथल स्वास्थ्य चौकी ब्यवस्थापन समितिको अध्यक्ष, श्रीश्री १००८ बाबा गणनाथ समावेशी सेवा समिति हल्दीबारी–४ का सल्लाहकार, पाथिभरा छठपूजा उपसमितिका सल्लाहकार, सृजनशील युवा परिवारका सहयोगी तथा सल्लाहकार, पाथिभरा सिंहदेबी धार्मिक तथा पर्यटकीय बिकास क्षेत्रका सदस्यलगायत
बिभिन्न सामाजिक संघ÷संस्थामा आवद्ध भएर काम गर्दै आइरहेका छन् । उनी श्रीमती धनमाया शिवाकोटी चुडालसहित छोरा राजदीप र छोरी रक्षाको साथमा हल्दीबारी–४ मा बस्दै आएका छन् ।
उनले यसअघि वडाअध्यक्ष हुँदा वडा नं. ४ मा संघीय सरकारको बजेटबाट १० किलोमिटर कालोपत्रे सम्पन्न गरेको बताउँदै गाउँपालिका बजेटबाट ११ किलोमिटर सडक कालोपत्रे हुँदै गरेको बताए । उनले सानाठूला गरी जम्मा १५ वटा बाटा ग्रावेल भएको र १८ वटा पुलपुलैसा निर्माण सम्पन्न गरेको जनाए । वडाको सबैक्षेत्रमा बिद्युत विस्तार र कृषकलाई विभिन्न उपकरण बितरण, वडाभित्र भएका सम्पूर्ण विवरणसहितको वडा चिनारी तयार गरी वडा कार्यालयमा टाँस गरेको बताएका छन् ।
त्यस्तै उनले ब्यक्तिगत रुपमा पनि हल्दीबारी–४ को मंगलबारे स्वास्थ्यचौकीलाई १० लाख रुपैयाँ मूल्य बराबरको धुर जग्गा, बिद्युत कार्यालयलाई १२ धुर, गौरीमाया बिकलाई १० धुर जग्गासहित घर निर्माण गरिदिएको बताएका छन् ।
उनले आफ्नो ब्यक्तिगततर्फबाटै बिर्तामोड–१०, हल्दीबारी र बाह्दशीका ६९२ घरपरिवारलाई कोभिडका समयमा खाद्यसामाग्री वितरण गरेको बताइएको छ । त्यस्तै कोभिड–१९ कै समयमा बिभिन्न स्वास्थ्य सामाग्री समेत बितरण गरेका थिए । ‘राजनीति पैसा कमाउन हैन, निःशुल्क सहयोग र सेवा हो, राजनीति कमाउ धन्दा बिलकुल होईन, उनी भन्छन् ’दुःख परेका जनतालाई म सहयोग गर्छु।’