बिर्तामोड ।
आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै मतदाताहरुलाई इमान्दार बन्न नेताहरुले आग्रह गरेका छन । शुक्रबार गठबन्धन दलका तर्फबाट बिर्तामोडको प्रतिवद्धता पत्र सार्वजनिक गर्दै नेताहरुले निर्वाचनमा यो वा त्यो दल नभनी गठबन्धन दलका नेताहरुलाई भोट गर्न आग्रह गरेका हुन् ।
कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाका उपमेयर पदका उम्मेदवार चन्द्रप्रकाश (सिपी) कडरियाले विपक्षी दलका मानिसहरुले गठबन्धनका दलको चुनाव चिन्हलाई लिएर भ्रम सिर्जना गरेको भन्दै प्रमुख पदमा रुख चिन्ह, उपप्रमुख पदमा गोलाकार भित्रको हँसिया हथौडा र अन्य वडाध्यक्ष र सदस्यहरुलाई आ–आफ्नो चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका छन् । गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल (प्रचण्ड) ले गरेको ऐतिहासिक सम्झौता बाट्नै मुलुक अघि बढिरहेको स्मरण गर्दै चुनावको लागि मात्र गठबन्धन नभएको बताए । यो गठबन्धन त्यो ऐतिहासिक सम्झौताको प्रतिबिम्ब भएको कडरियाको भनाई थियो । उनले केन्द्रीय स्तरमा भएको गठबन्धन दलहरुलाई सम्भव भए अझै पनि सहकार्य गर्न आग्रह गरे ।
नेपाली कांग्रेसका झापा सभापति देउकुमार थेबेले लोकतन्त्र बचाउन गठबन्धन आवश्यक भएको जनाउँदै चुनाव चिन्हको बिषयलाई लिएर अप्ठ्यारो महशुस नगर्न मतदातालाई आग्रह गरे । गठबन्धनले उठाएका सबै उम्मेदवारहरुलाई जिताउन सभापति थेबेले आग्रहसमेत गरे । झापाको मुख्य केन्द्र बिन्दु रहेको बिर्तामोडमा गठबन्धनले जित्न जरुरी रहेको उनको भनाई थियो ।
नगर प्रमुख पदका उम्मेदवार भोजराज सिटौलाले गठबन्धन दलले सार्वजनिक गरेको प्रतिबद्धता पत्र चुनावी प्रतिबद्धता पत्रको रुपमा मात्र नल्याइएको भन्दै कार्यान्वयन गरि छाड्ने बताए । सिटौलाले आफू नगर प्रमुख भए सरकारी सवारी प्रयोग नगर्ने र त्यो गाडीलाई नगरबासीका लागि एम्बुलेन्सको रुपमा प्रयोग गराउने प्रतिबद्धता ब्यक्त गरे । उनले खेलकुद समितिलाई कार्यकर्ता भर्ती केन्द्र बनाइएको भन्दै गठबन्धनको सरकार विजयी भए खेलकुद समितिमा ब्यवसायीक मानिस राखेर खेलकुदको विकास गरिने बताए ।