विर्तामोड  । 

नेपाली कांग्रेस झापाले जिल्लाका १५ वटै पालिका र सबै वडाहरुमा उम्मेद्वारको टुङ्गो लगाएको छ । कांग्रेस संसदीय दलका संयोजक देउकुमार थेवेको अध्यक्षतामा सम्पन्न विभिन्न चरणको बैठकले पालिका एवं वडाहरुमा उम्मेद्वारहरुको टुङ्गो लगाएको हो ।

नेपाली कांग्रेसको विधान–२०१७ (संसोधनसहित) को धारा ३२ को १, २ र ३ बमोजिम वडा, गाउँ÷नगरबाट सिफारिस भइ आएका नाममध्येबाट नगरपालिकाका उम्मेद्वारको टुङ्गो लगाउने अधिकार प्रदेश समितिलाई, गाउँपालिकाका उम्मेद्वार टुङ्गो लगाउने अधिकार जिल्ला समितिलाई दिएको छ भने वडाका अध्यक्ष र सदस्यहरुको  टुङ्गो लगाउने अधिकार क्षेत्रीय समितिलाई दिएको छ ।

जस अन्तर्गत झापाको मेचीनगरको प्रमुखमा केशवराज पाण्डेले कांग्रेसबाट प्रतिष्पर्धा गर्दैछन् । यसैगरी विर्तामोड नगरपालिकाको प्रमुखमा कांग्रेसको तर्फबाट भोजराज सिटौलाले उम्मेद्वारी दिदैछन् । 

यसैगरी अर्जुनधारा नगरपालिकामा रञ्जिता कार्की, कनकाई नगरपालिकामा वडा नं–३ का निवर्तमान वडाध्यक्ष एवं क्षेत्रीय प्रतिनिधि रुद्रप्रसाद चिमरिया, यसैगरी उक्त नगरपालिकामा नेपाल शिक्षक संघका पूर्व सदस्य एवं कांग्रेस क्रियाशील सदस्य आशा शर्मा शिवाकोटी उपप्रमुखको उम्मेद्वार बनेकी छन् ।

झापाको शिवसतासीमा निवर्तमान नगर सभापति एवं वर्तमान महाधिवेशन प्रतिनिधि पर्शुराम ढुङ्गाना नगरप्रमुख पदका उम्मेद्वार बनेका छन् भने झापाको दमकमा महाधिवेशन प्रतिनिधि एवं प्रदेश नं–१ कार्यसमिति सदस्य रेगिना भटराई प्रसाईलाई उपप्रमुखको उम्मेद्वार तय गरिएको छ ।

१ नं प्रदेश कार्यसमितिले दिएको जानकारी अनुसार गौरादहमा निवर्तमान नगर प्रमुख , पार्टीका पूर्व क्षेत्रीय सभापति एवं महासमिति सदस्य रोहितकुमार शाह नगरप्रमुखमा उठ्ने निश्चित भएको छ ।

विभिन्न पालिकामा गठबन्धन दलको सहमतिमा राष्ट्रिय राजनीतिमा गठबन्धनमा नभएका दललाई पनि झापामा भने गठबन्धनभित्र समेटिएको छ । गठबन्धन दलको सहमति अनुसार मेचीनगर, विर्तामोड, अर्जुनधारा, भद्रपुर, शिवसतासी, र गौरादहमा नेकपा माओवादीले उपप्रमुख पद प्राप्त गरेको छ भने दमकको प्रमुख पदमा राप्रपा नेपालका उम्मेद्वार तय गरिएको गठबन्धन दलका संयोजक कृष्ण हुमागाईले जानकारी दिए ।

यसैगरी गाउँपालिकातर्फ झापाको बुद्धशान्तिमा मनोज प्रसाई, कचकबलमा कालेन्द्रप्रसाद सिंह राजवंशी, हल्दिबारीमा तुलसी ओली, झापा गाउँपालिकामा जयनारायण शाह, बाह्रदशी गाउँपालिकामा खड्गप्रसाद राजवंशी, गौरीगञ्ज गाउँपालिकामा फूलवती राजवंशी, कमल गाउँपालिकामा हुकुमसिंह राईलाई प्रमुख पदका उम्मेद्वार तय गरिएको छ । अन्य पालिकामा नेकपा माओवादीका तर्फबाट उपप्रमुख पदको उम्मेद्वार बन्नेछन् भने झापामा नेपाली कांग्रेसका तर्फबाट अन्जु थपलिया र हल्दिबारीमा चन्द्रकला राईलाई उपप्रमुखको उम्मेद्वार तय गरिएको नेपाली कांग्रेस झापाका सचिव नवीन विमलीले जानकारी दिए ।

यसैगरी गठबन्धन दलमध्ये नेपाली कांग्रेस र नेकपा माओवादीले झापा जिल्लाका १५ वटा पालिकामध्ये झापा गाउँपालिका र कनकाई नगरपालिका एवं शिवसतासी वडा नं–१ र बाह्रदशी वडा नं–१ मा मित्रवत प्रतिष्पर्धा गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, नेकपा माओवादी झापाका अध्यक्ष राजु आचार्य अग्नि, वार्ताका लागि गठित कार्यदलका संयोजक कृष्ण हुमागाई र कार्यदल सदस्य मोहन टुडुद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार हल्दिबारी र कचनकबलमा सहमतिको प्रयास जारी राख्ने जनाइएको छ ।

उक्त सहमति अनुसार झापाका १ सय ३१ वटा वडामध्ये मित्रवत प्रतिष्पर्धा हुने पालिकाबाहेकका ७३ वटा वडामा नेपाली कांग्रेस, २३ वटा वडामा नेकपा माओवादी, १÷१ वडामा लिम्बुवान, नेकपा एस् र जसपाले वडाध्यक्षका उम्मेद्वार उठाउनेछन् । 

तस्वीर फाइल