बिर्तामोड ।
केहि समयदेखि पार्टी हित विपरित कार्य गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) झापाले तीनजनालाई कारवाही गरेको छ ।
पार्टीको हित विपरित गतिविधि गरेको भन्दै बिर्तामोड नगर कमिटीले जिल्लालाई सिफारिस गरेपछि जिल्लाले उनीहरु तीनैजनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो ।
बिर्तामोड नगर कमिटीमा रहेका जानुका थापा मगर, शिवकुमार कन्दङ्वा र मालती विकलाई पार्टीको बिर्तामोड नगरको आइतवार (आज) बसेको बैठकले जिल्लालाई कारवाहीको लागि सिफारिस गरेको नगर सचिव गणेश कालिकोटेले जानकारी दिए ।
नगरले हित विपरित गतिविधि गरेको सूचनाका आधारमा जिल्लालाई सिफारिस गरेपछि पार्टीको झापा संयोजक राजु आचार्य (अग्नि) र सचिव मोहन टुडु (सरोज) ले बिज्ञप्ती जारी गर्दै कारवाही गरेको जनाइएको छ ।