हल्दीबारी । 

५ बर्षको अवधिमा हल्दिबारी गाउँपालिकामा भएका बिकास निर्माणको काम नेकपा एमालेका तर्फबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरीले आफू र आफ्नो पार्टीले जस लिनु पर्ने बताएका छन् ।

नव निर्मित गाउँपालिका भवनको परिसरमा आज (बुधवार) आयोजना गरेको पत्रकार सम्मेलनमा गाउँपालिकाले गरेका काम बारे जानकारी गराउदै उपाध्यक्ष गिरीले बहुमतमा रहेको कार्यपालिका बोर्ड एमालेको भएको र तत्कालीन प्रधानमन्त्रीको सहयोग र समन्वयमा भएकाले अन्य राजनैतिक दललाई अनावश्यक भ्रम जनतामा नछर्न चेतावनी दिए ।

गाउँपालिका उपाध्यक्ष तथा एमाले संसदीय दल हल्दिबारीका नेता गिरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अध्यक्ष जितेका रविन्द्र लिङ्देनले पाँच वर्षसम्म राज्यको सुविधा उपभोग र भाषण गर्नु बाहेक केही नगरेको बताउदै गिरीले ‘कसरी बजेट माग्ने , कोसँग बजेट माग्ने ज्ञान नभएकाहरु कहिल्यै पनि बजेट माग्न मन्त्रालय गएनन’् गिरीले  भने ‘चिट दिएर, सामाजिक सञ्जालमा लेखेर र बढाइ चढाइ गर्दैमा बजेट आउँदैन ।’ अध्यक्ष लिङ्देनले हामीले ल्याएको योजनालाई लत्याउने काम गरि बिकास बिरोधि गतिविधि गरेको आरोप लगाए ।

halllll

आफुले गाउँपालिकाको गाडी या अन्य सवारीको नाममा कुनै सुबिधा नलिएको बताउदै हल्दिबारीमा भएका विभिन्न विकास निर्माणका विषयमा राप्रपा, माओवादी र अन्य केही राजनैतिक दलले जनतामा भ्रम पैदा गर्न लागि परेको बताए ।

गिरीले नेकपा एमाले र उपाध्यक्षको पहलमा गाउँपालिकामा हालसम्म भएका केहि महत्वपूर्ण कार्यहरु उल्लेख गरेका छन् । गाउँपालिकाले जनताको स्वास्थ्य उपचार गरेको सहयोग,  स्वास्थ्य सम्बन्धी सामान्य सेवा लिन पनि बिर्तामोड, भद्रपुर लगायतका शहरहरुमा जानु पर्ने बाध्यताको अन्त्य गर्न साविकको तीनवटै गाविसलाई समेट्ने गरी तीनवटा प्याथोलोजी ल्याव सेवा सञ्चालन गरेको,  ल्याब सेवा लिन आउने ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला र शहीद तथा बेपत्ता परिवारका सन्तती तथा गर्भवती महिलाहरुलाई निःशुल्क सेवा उपलब्ध गराईएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । त्यस्तै स्वास्थ्य संस्थाविहीन हल्दिबारी वडा नं ३ र ५ मा समेत आधारभूत स्वास्थ्य सेवाकेन्द्र सञ्चालनमा ल्याईएको छ ।

गाउँपालिकाले शिक्षामा सबैलाई अनिवार्य निःशुल्क शिक्षा अन्तरगत कक्षा १२ सम्मको पठनपाठन  निशुल्क गरेको,  हल्दिवारी माविमा माध्यमिक तहको प्राविधिक शिक्षा (बाली विज्ञान) समेतलाई निःशुल्क गरेको, गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयहरुमा सुविधायुक्त कम्प्यूटर ल्याब तथा कम्प्यूटर शिक्षकहरुको व्यवस्थापनसहित कम्प्युटर शिक्षालाई अनिवार्य गरेको जनाइएको छ । 

त्यस्तै खेलकुदको क्षेत्रमा समेत आफ्नो पहिचान स्थापित गर्ने उद्धेश्यले खेल तथा योग शिक्षकहरुको व्यवस्थापन गरेको, सबै सामुदायिक विद्यालयका   विद्यार्थीलाई जङ्कफुड निषेध गरी पोषणयुक्त खाजा उपलब्ध गराउँदै विद्यालयमा आफ्नै चमेना गृह निर्माण गरिएको,  लोपोन्मुख मेचे समुदायको भाषा संरक्षणका विद्यार्थीहरुलाई लक्षित गरी श्री दीपेन्द्र प्राविमा मेचेहरुको मातृभाषामा पठनपाठन गर्न स्थानीय पाठ्यक्रम तयार गरी आवश्यक व्यवस्थापन मिलाईएको जनाइएको छ ।

त्यसैगरी हल्दिबारीको बाचा झापाभरी माछा कार्यक्रम सञ्चालन गरी माछापालन व्यवसाय गर्ने र गर्न चाहने कृषकहरुको लागि अनुदानको व्यवस्था मिलाउँदै व्यावसायिक रुपमा माछा उत्पादन हुन थालेको,  पशु नश्ल सुधार कार्यक्रममार्फत सुत्केरी भएका गाई भैंसीलाई प्रोत्साहन स्वरूप एक हजार रुपैयाँ सुत्केरी भत्ता सम्बन्धित कृषकलाई उपलब्ध गराउने आवश्यक व्यवस्था गरिएको,  भूमिगत सिंचाईका करिव हजार कृषक घरपरिवारलाई अनुदानमा सिंचाई मोटर उपलब्ध गराइएको छ । गाउँपालिकाको थप १५ सय विघा जमिनमा सिंचाई सुविधा पुगेको जनाइएको छ ।

भुतेनी तथा भुसुडी खोला सिंचाई अन्तरगत ३ किमि पक्की सिंचाई नाला निर्माणको कार्य यसै आवमा सम्पन्न हुने गरि व्यवस्था मिलाईएको छ भने गत आवमा भुतेनी खोलाबाट सिंचाईको लागि २५० मि. पक्की नाला निर्माण सम्पन्न गरिएको छ ।

भेलागढी सामुदायिक बनको हाताभित्र लोकतान्त्रिक शहीद स्मृति पार्कमा आधारभूत संरचनाहरुको निर्माणको कार्य अन्तिम चरणमा रहेको,  द्रोणाचार्य पर्यटकीय मार्ग निर्माणको लागि ट्रयाक खोलि २५०० मिटर ग्राभेल गरिएको,  गाउँपालिका वडा नं ४ मा रहेको पाथिभरा पर्यटकीय क्षेत्रलाई धार्मिक पार्कको रुपमा विकास गर्ने कार्यलाई प्रारम्भ गरिएको, गाउँपालिका वडा नं ५ मा रहेको सोडागान्धी सिमसार क्षेत्रलाई जैविक चिडियाखानाको रुपमा विकास गर्न पर्यापर्यटनको अवधारणा अनुरूपका कार्यक्रमहरु संचालन गर्न आवश्यक व्यवस्थापन गरिएको गिरीले जानकारी दिएका छन् । 

९७ स्थानमा स्ल्याव कल्भर्ट निर्माण सम्पन्न, गाउँपालिका क्षेत्रभित्र जम्मा ४३७०० मिटर कालोपत्रे सडक निर्माण गरि सकिएको, जम्मा ३४५०० मिटर कालोपत्रे सड़क निर्माणको क्रममा रहेको, पालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा रहेको, ३ नं वडा कार्यालय भवन निर्माण सम्पन्न गरिएको,  ५ नं वडा कार्यालय निर्माणको क्रममा रहेको, वडा नं ३ र ५ को लागि आधारभूत स्वास्थ्य सेवाकेन्द्र भवन निर्माण सम्पन्न गरिएको बताइएको छ।

वडा नं २ मा गरिव तथा विपन्न परिवारको सामूहिक आवासको लागि १३ वटा आवास निर्माण सम्पन्न, –पालिकाका विभिन्न स्थानमा गरिव तथा विपन्न परिवारको लागि ३३ वटा आवास निर्माण, हल्दिबारी नमुना माध्यमिक विद्यालयको लागि तीनतले ९ कोठे विद्यालय भवन निर्माण सम्पन्न, लक्ष्मी माध्यमिक विद्यालयमा १८ वटा व्यावसायिक सटर सहितको बहुउद्देश्यीय विद्यालय भवन निर्माण गरिएको र अन्य विभिन्न विद्यालयहरुको गरि जम्मा १३ वटा विद्यालय भवन निर्माण गरिएको, जागृति क्याम्पस भवन निर्माण गरिएको बताइएको छ ।

त्यस्तै कच्ची सड़क सडक ग्राभेल १२५ किमि भन्दा वढी,  स्तरोन्नति ८५ किमि भन्दा वढी, खानेपानी, ८६ किमि खानेपानी विस्तार, ५०० विपन्न घरधुरीमा निशुल्क गरिएको जनाइएको थियो ।