सुरुङ्गा । 

नेपाली कांग्रेसका कनकाई नगरपालिकाका मेयरका दाबेदार रमेश श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकीदै गर्दा उनले पार्टी परिवर्तन गरेका हुन् ।  

पाँच वर्ष अघिको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस कनकाईबाट मेयरको लाइनमा उभिएका कांग्रेस नेता रमेश श्रेष्ठले आसन्न निर्वाचनको संघारमा पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेका छन् । यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट कनकाई नगरको मेयर पदका लागि सर्वाधिक चर्चा कमाएका श्रेष्ठलाई पार्टीले टिकट नदिएपछि नेतृत्वप्रति असन्तुष्टी जनाउँदै आएका थिए ।

कांग्रेस नेता श्रेष्ठलाई राप्रपाका केन्द्रिय सदस्य भक्ति सिटौला, जिल्ला अध्यक्ष केशव ओझा लगायतका नेताले राप्रपामा स्वागत गर्दै पार्टीको सदस्यता प्रदान गरेका हुन् ।

 राप्रपामा प्रवेश गर्दै नेता श्रेष्ठले कांग्रेसमा भएको झुटको राजनीतिमा आँफू शिकार बनेको बताउँदै आसन्न निर्वाचनमा खुट्टा कमाउँदै अघि बढेको कांग्रेसलाई अब न्याय प्रेमी जनताले चाँडै फैसला गरिदिने बताए । जीवनको उर्जाशिल समय कांग्रेसका ठेकेदारहरुले बरबाद गरिदिएको टिप्पणी गर्दै नेता श्रेष्ठले कांग्रेस पार्टीमा राजनीतिका नाममा हुने गरेको अराजक गतिविधिले समाजलाई अँध्यारो दिशा तर्फ धकेल्ने बताए । निर्वाचनको संघारमा आएर पनि कांग्रेसको ढुलमुले प्रवृत्तिले अन्य दलहरुलाई नै सहज हँुदै गएको भन्दै नेता श्रेष्ठले कांग्रेसको राजनीतिप्रति सतर्क रहन सर्वसाधारणलाई समेत अपिल गरेका छन् ।        

 नेता श्रेष्ठले कांग्रेसमा अब निष्ठाको राजनीति हराएको टिप्पणी गरे ।  कनकाई ७ दुर्गापुर निवासी श्रेष्ठकै नेतृत्वमा रहेको दुर्गापुर बजार व्यवस्थापन समितिका तर्फबाट बजार क्षेत्रलाई व्यवस्थित बनाइएको बताइएको छ । अन्य विभिन्न सामाजिक, शैक्षिक एवम् धार्मिक संघसंस्थाको नेतृत्व तहमा रहेका अत्यन्तै सहयोगी श्रेष्ठले आगामी दिनमा समाज रुपान्तरणका लागि भूमिका खेल्ने बताएका छन् ।