बिर्तामोड ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रिय सदस्य, युवा नेता तथा योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) का इञ्चार्ज रामप्रसाद सापकोटा (दिपशिखा)ले नेपालको कम्युनिष्ट आन्दोलनमा झापा आन्दोलनको भुमिकालाई ऐतिहासिक रुपमा बुझ्ने गरिएको बताएका छन् ।
सोमबार बिर्तामोडमा आयोजित नगर स्तरीय वृहत प्रशिक्षण भेलालाई सम्बोधन गर्दै नेता दिपशिखाले नेपाललाई कम्युनिष्ट मुलुकको रुपमा चिनाउन झापा आन्दोलनको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।
पार्टीको बिर्तामोड नगर कमिटिद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि समेत रहेका दिपशिखाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई इङ्गित गर्दै कम्युनिष्ट आन्दोलनमा झापाको दुईवटा परिचय भएको बताए । ‘एकातिर कम्युनिष्ट आन्दोलनमा झापाको आफ्नै पहिचान छ भने पछिल्लो समय ऐतिहासिक कम्युनिष्ट आन्दोलनको सबैभन्दा गन्हाएको पात्र पनि झापाले नै जन्माएको छ,’ उनले भने,‘अब त्यो दुर्गन्धित, छट्टु मान्छेलाई हराएर अर्को ऐतिहासिक दायित्व पनि झापाबासीको छ ।’
एकताबद्ध भएर लाग्ने हो भने त्यो दुर्गन्धित व्यक्तिलाई हराउने ऐतिहासिक अवसर झापालीहरुमा भएको उनले धारणा थियो । माओवादी आन्दोलन यतिबेला ब्राम्हण र खसीको कथा जस्तो भएको भन्दै ओली र देउवाजस्ताहरु दोबाटोमा बसेर खसी खान खोजेजस्तै माओवादीको एजेण्डामा अरुले राज गरिरहेको बताए । माओवादी केन्द्र कम्युनिष्ट पार्टीहरुमा पहिलो रहेको बताउँदै नेता दिपशिखाले यो निर्वाचनबाट माओवादी केन्द्र आम पार्टीहरुमा दोस्रो स्थानमा आउने बताए ।
माओवादी केन्द्रका बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीको १५ वटा जनवर्गीय संगठनको बिर्तामोड नगर कमिटि समेत गठन गरिएको थियो । बिर्तामोड नगर इञ्चार्ज युवराज दाहालले रिता मिश्र अधिकारीको अध्यक्षतामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी), सुदिप खवासको अध्यक्षतामा वाइसिएल, ओमप्रकाश श्रेष्ठको अध्यक्षतामा नेपाल राष्ट्रिय उद्योग व्यापार महासंघको घोषणा गरे । त्यस्तै दिलिप सुन्दासको अध्यक्षतामा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा, मो. इस्माइलको अध्यक्षतामा नेपाल मुस्लिम सामुदायिक संगठन, लक्ष्मण गुरुङ्को अध्यक्षतामा नेपाल बुद्धिजिवी संगठन, विष्णु राजवंशी अध्यक्ष रहेको कोचिला राष्ट्रिय मुक्ति मोर्चा, कृष्ण साँवा लिम्बूको अध्यक्षतामा लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चा र होमनाथ आचार्यको अध्यक्षतामा अखिल नेपाल किसान संघ गठन भएको घोषणा गर्दै सबै संगठन प्रमुखलाई पार्टीको झण्डा प्रदान गरिएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पार्टीको जिल्ला समन्वय समिति झापाका सचिव मोहन टुडु (सरोज)ले कार्यकर्ताहरुलाई माओवादीको एजेण्डा बुझाउन जरुरी रहेको धारणा राखे । कार्यकर्ताहरुले माओवादी हुँ भनेर कुनै हिनताबोध महशुस गर्नु नपर्ने भन्दै नेता टुडुले गाउँ गाउँमा गएर निर्धक्कताका साथ मुलुक माओवादी कै एजेण्डाबाट अघि बढिरहेको कुरा जनता समक्ष राख्न आग्रह गरे । गठबन्धन भएपनि नभएपनि माओवादी चुनाव लड्न माओवादी सक्षम रहेको बताउँदै सचिव टुडुले कार्यकर्तालाई निर्वाचनका लागि तयार रहन अनुरोध गरे ।
कार्यक्रममा अनेम संघ (क्रान्तिकारी) का केन्द्रिय सदस्य निरु खतिवडा, प्रदेश सदस्य कुवेर श्रेष्ठ (अरुण), झापा सह–इञ्चार्ज ज्योतिसिंह दर्लामी, भूमि आयोग झापाका सदस्य तारा सुवेदी लगायतले शुभकामना राखेका थिए । दलिय गठबन्धनमा नेपाली कांग्रेसको दम्भका कारण अन्य दलहरु पेलिनु परिरहेको अवस्थामा नेकपा माओवादी केन्द्रले शक्ति प्रदर्शनको रुपमा कार्यक्रम आयोजना गरेको छ । बिर्तामोड नगरका करिब ८ सय कार्यकर्ताको उत्साहजनक उपस्थितीमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एक दर्जन मानिसहरु माओवादी केन्द्रमा प्रवेश गरेका थिए । कार्यक्रममा प्रदेश सदस्यहरु, झापा सह–इञ्चार्ज सिपी कडरिया, ज्योतिसिंह दर्लामी, जिल्ला संयोजक अग्नी आचार्य (राजु), जिल्ला नेता वासु दुलाल, बिर्तामोड नगर इन्चार्ज युवराज दाहाल, क्षेत्र प्रदेश क संयोजक प्रकाश भट्टराईलगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नगर सचिव गणेश कालिकोटेले गरेको नगर उपाध्यक्ष जेवी जबेगुले जानकारी दिए ।