झापा ।
नेकपा एमालेको हल्दीबारी गाउँपालिका उपाध्यक्ष छनोटमा विवाद उत्पन्न भएको छ । उपाध्यक्ष छनोट तथा सिफारिस पारदर्शी र नियमसंगत नभएको भन्दै कार्यकर्ता रुष्ट बनेका छन् ।
उपाध्यक्ष आंकाक्षी मध्ये ईश्वरा तिबारीलाई उमेद्वारका रूपमा एमाले हल्दीबारीले पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा सामेल हुन नदिएपछि जिल्ला कमिटीमा उनले निबेदन दिएकी हुन् ।
उनले नेकपा एमाले जिल्ला कमिटी झापामा छलफल गरिपाउँ भनेर निबेदन दिएकी हुन् । नेकपा एमालेको १० औं महाधिवेशन पूर्व सदस्यता नविकरण गर्न मैले स्थानीय कमिटीमा अनुरोध गर्दा नवीकरण भईसकेको भनेर जानकारी पाएको थिए, निवेदनमा उल्लेख गरेकी छिन् । पार्टीमा कस्ता ब्यक्तिले उम्मेद्वारी पाउने उनले पार्टी समक्ष जिज्ञाशा राखेकी छिन् । ‘मैले पहिले पार्टीमा उम्मेद्वारी दिन जाँदा दिन पाइने बताइयो’ तिवारीले भनिन् ‘पार्टीको गाउँपालिका बाहिर भएको छलफलमा गाउँपालिकाको टिमले तपाईको नाम टिपिदैन, यदि टिपिहाले पनि जिल्ला पठाइँदैन ।’ उनले पैसा धेरै खर्च हुने भन्दै उम्मेद्वारीको फारम नै नदिएको बताइन् ।
उनले समाज परिवर्तन गर्न अन्य आंकाक्षी महिला नेतृ भन्दा आफु सक्षम रहेको दावी गर्दै नेतृत्वमा आफुले भाग लिनु पर्ने मुख्य कारण समाज परिवर्तन भएको उनको भनाई छ ।
उनले निवेदनमा संगठित सदस्यता नम्बर ख ७०११०२ रहेको उल्लेख गर्दै पार्टीको नीति, सिद्धान्त र बिचारको अनुशासन पूर्वक पालना गरेको बताएकी छिन् । ‘मलाई पार्टीको आन्तरिक प्रतिस्पर्धा र छनौटमै सामेल हुने फारम भर्नसम्म दिइएन ।’ उनले आफुलाई सदस्यता नविकरण नगरेको वहाना बनाएर अन्याय गरेको बताएकी छिन् । तिवारी सूचनाको हकको अभियान्ता पनि हुन् ।
यता एमाले हल्दीबारी गाउँपालिकाका अध्यक्ष त्रिलोचन सापकोटाले पार्टी केन्द्रको उम्मेद्वारी मापदण्ड नपुगेका कारण तिवारीले उम्मेद्वारी नपाएको बताएका छन् ।