बिर्तामोड । 

स्थानीय तहको आसन्न निर्वाचनलाई शान्तिपूर्ण, उत्साहजनक जनसहभागिता र व्यवस्थित रुपमा सम्पन्न गर्न  सहयोगी र सकारात्मक भूमिका निर्वाह गर्ने झापाका राजनीतिक दलहरुको तर्फबाट प्रतिबद्धता व्यक्त भएको छ । दलका नेताहरुले निर्वाचनलाई शान्तिपूर्ण र प्रचारप्रसारलाई मितब्ययी बनाउने समेत प्रतिबद्धता जनाएका छन् ।

संवाद समूह झापाको संयोजनमा मंगलबार बिर्तामोड भएको झापाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु बीचको बैठकमा स्थानीय तह निर्वाचनलाई सफल बनाउनका लागि दलहरुले खेल्नुपर्ने भूमिकाका बारेमा विस्तृत छलफल भएको थियो ।

२०७९ बैशाख ३० का लागि घोषित स्थानीय तहको निर्वाचनलाई सफल बनाउन दलहरुको भूमिका कस्तो हुन्छ र प्रतिवद्धता के छ भन्ने बारे भएको छलफलमा सहभागी १२ वटा दलका प्रमुख तथा प्रतिनिधिले विभिन्न सात बुँदे साझा प्रतिबद्धता घोषणा गरेका छन् । छलफलमा  निर्वाचनका लागि घोषणापत्र तयारीबारे दलका नेताहरुले जानकारी गराएका थिए भने समेटिनुपर्ने विषयबारे प्रतिबद्धता जनाएका हुन् ।

नेकपा एमाले झापा अध्यक्ष तथा संविधानसभा सदस्य दिपक कार्की, नेपाली कांग्रेस झापाका सभापति देउमान थेवे, नेकपा माओबादी केन्द्र झापाका संयोजक राजु आचार्य (अग्नि), नेकपा एकीकृत समाजवादी झापाका जिल्ला सदस्य श्री सिटौला, जनता समाजवादी पार्टी झापाका अध्यक्ष दिपेन वाला राईले निर्वाचन आचारसंहिता पूर्ण पालनामा प्रतिबद्धतासहित आफ्नो धारणा राखेका थिए ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी झापाका अध्यक्ष अनुतसिंह राजवंशी, राप्रपा झापाका अध्यक्ष केशवप्रसाद ओझा, नेकपा मालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री खगेन्द्र प्रसाई, राप्रपा नेपाल झापा अध्यक्ष कमलप्रसाद खरेल, विवेकशील साझा पार्टी झापाका संयोजक मेदनी प्रसाईं, राष्ट्रिय जनमुक्ति पार्टी झापाका अध्यक्ष पर्शुराम मगर र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च झापाका अध्यक्ष नगेन राईले आफ्नो धारणासहित प्रतिबद्धता व्यक्त गरेका छन् ।

साना दलका प्रतिनिधिहरुले ठूला दलले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने र निर्वाचन प्रचारलाई खर्चिलो बनाउने गरेको गुनासो गरेका थिए । मुख्य दलका नेताहरुले निर्वाचन आचारसंहिता उल्लंघन गर्न कसैलाई छुट नहुने भन्दै पूर्ण पालना गर्ने बताए ।

यस्तो छ १२ दलको सात बुँदे प्रतिबद्धता :

१) निर्वाचन आचार–संहिता पूर्ण पालना गर्ने छौं ।

२) कुनै पनि चुनावी एवं राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग गर्ने छैनौं ।

३) आफ्ना गतिविधिलाई शान्तिपूर्ण र मर्यादित बनाउदै निर्वाचनलाई द्वन्द्वरहित बनाउने छौं ।

४) निर्वाचन प्रचार–प्रसारलाई तडक–भडकरहित कम खर्चिलो र मितव्ययी बनाउने छौं ।

५) मतदाता शिक्षालाई प्रभावकारी बनाउन सहयोगी भूमिका निर्वाह गर्नेछौं ।

६) हामी राजनीतिक दलका प्रतिनिधि एक अर्को दलको सहअस्तित्व स्वीकारी आदर सम्मानपूर्वक व्यवहार र स्वस्थ प्रतिस्पर्धा गर्नेछौं ।

७) राजनीतिक दलको तर्फबाट जारी गर्ने घोषणापत्रमा आम नागरिकमा परिवर्तनको अनुभूति हुने गरी समृद्ध स्थानीय तह निर्माणका समग्र विषय समेट्ने तथा घोषित कार्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।

साथै, बालमैत्री शासनयुक्त स्थानीय तह निर्माण, अपाङ्गता भएकाहरु, लैङ्गिक तथा यौनिक अल्पसंख्यकका समग्र समस्या, रेलवे प्रभावितहरुको मुआब्जाको समस्या, चिया क्षेत्रका समग्र समस्या, आदिवासी, जनजाति,  अल्पसंख्यक तथा पछाडि पारिएका समुदायका पहिचान– अस्तित्वका सवाल, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण लगायतका विषयलाई समेटेर सम्वोधन गर्नेछौं ।