झापा । 

नेकपा एमालेका स्थापित युवा नेता प्रकाश खड्काले एमाले परित्याग गर्ने घोषणसँगै नेकपा (माओवादी केन्द्र) प्रवेश गर्ने भएका छन् ।

 मेचीनगर नगरपालिकामा  एमालेका लोकप्रिय नेताको रुपमा परिचित उनी भोली शनिवार माओवादीमा प्रवेश गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र प्रदेश सदस्य तथा निर्वाचन क्षेत्र नं. १ का इन्चार्ज प्रकाश भण्डारीले  जानकारी दिएका छन् । 

उनीसँगै सयौको संख्यामा भोलि शनिवार मेचीनगरमा माओवादी केन्द्रमा प्रवेश गर्ने जनाइएको छ । खड्कासँगै सयौको संख्यामा पार्टी प्रवेश गर्नेलाई पार्टीका केन्द्रिय सदस्य तथा प्रदेश नं.१ इन्चार्ज राम कार्की (पार्थ) ले पार्टी प्रवेश गराउने कार्यक्रम तय भएको भण्डारीले जानकारी दिएका छन् । 

२०५३ सालदेखि राजनीतिक यात्रा शुरु गरेका खड्का २०५९ सालमा धुलाबारी क्याम्पसको स्ववियू  सभापति समेत हुन् । धुलाबारीका आधा दर्जन सामाजिक संघ÷संस्थामा क्रियाशील खड्का पछिल्लो समय नेकपा एमालेको नगर कमिटीको सचिवालय सदस्य तथा मेचीनगर–१० का इन्चार्ज समेत हुन् । यसअघि ३ कार्यकाल पार्टीका अध्यक्ष समेत रहेका उनी अनुभवी राजनीतिककर्मी मानिन्छन् । सामाजिक अभियन्ता खड्का लामो समयदेखि सामाजिक, राजनीतिक कार्यमा क्रियाशील रहँदै आएका छन् । 

एमालेले देश र जनताको पक्षमा काम गर्न नसकेको, जिम्मेवारी बाडफाँड, टिकट लेनदेन र ब्यवसायिक साठगाँठमा मात्र ब्याप्त रहेकाले उक्त पार्टी परित्याग गरेको उनले बताएका छन् । उनले इमान्दार र स्वच्छ छबि भएका नेता कार्यकर्ता एमालेले पाखा लगाउँदै गएको र पैसाको आडमा पार्टी सत्ता कब्जा गर्ने विकृतिले घर गरेकाले पार्टीमा रहेर वद्नाम हुन नसक्ने बताउँदै पार्टी परित्याग गरेको बताएका छन् । एमाले कम्युनिष्ट पार्टी नभएको बताउँदै ‘बा’ वादी  गिरोहमा परिणत भएकाले खड्काले जिल्लाभरका सवै इमान्दार युवाहरुसहित चाँडै माओवादी केन्द्रमा प्रवेश गर्ने समेत बताएका छन् ।