बिर्तामोड ।
नेपाली कांग्रेस झापा पदाधिकारीको बैठकले गठबन्धन दलको सहमतिमा स्थान विशेषको परिस्थिति अनुसार केन्द्रमा गठबन्धन गरे बाहेकका दललाई पनि समावेश गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्व र प्रदेश नं–१ का सभापति उद्वव थापा एवं पूर्व केन्द्रीय सदसय सुधिरकुमार शिवाकोटीको विशेष उपस्थितिमा भएको बैठकले गठबन्धनको दायरालाई फराकिलो बनाउने निर्णय गरेको हो ।
क्षेत्रीय सभापतिहरु समेतको सहभागिताका सम्पन्न बैठकमा गत २०७४ सालको स्थानीय निर्वाचनमा प्राप्त मतभारका आधारमा चुनावी तालमेल गर्न ब्यावहारिक हुने विषयमा छलफल भएको छ ।
बैठकले केन्द्रबाट अर्को परिपत्र नआएसम्म सबै तहको उम्मेद्वार सिफारिस प्रक्रियालाई यथास्थितिमा राख्न निर्देशन गरेको छ । आकांक्षी उम्मेद्वारहरु बीचमा छलफल गराई सहमतिको वातावरण बनाउन क्रियाशील रहन भने बैठकले मातहत निकायलाई निर्देशन गरेको हो ।
बैठकमा प्रदेश प्रतिनिधि नन्दकुमार नेम्बाङ, उपसभापतिहरु शेरबहादुर भट्टराई र केशवराज पाण्डे, सचिव कृष्ण हुमागाई र नवीन विमली, सहसचिव कमल भण्डारी, क्षेत्रीय सभापतिहरु इन्द्रबहादुर बुढाथोकी, खगेन्द्र मैनाली, गणेश पोखरेल, ढुण्डिराज भण्डारीलगायतको सहभागिता रहेको थियो ।