बिर्तामोड ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले झापामा संगठन सुदृढीकरणसँगै आगामी स्थानीय तहको निर्वाचनको तयारी थालेको छ । ओली गुटलाई निमिट्याम्मै पार्ने गरी झापामा सम्मानजनक उपस्थितिमा पार्टीलाई ल्याउने दावी गरेको छ ।
पार्टीले शुक्रवार बिर्तामोडमा पत्रकार भेटघाटको आयोजना गर्दै संगठन सुदृढीकरणसँगै आसन्न स्थानीय तहको निर्वाचनको तयारी थालेको जनाएको हो । झापामा पार्टीले आफ्नो गतिविधि र क्रियाशीलता बढाएपछि ओली गुटलाई दिनदिनै ठुलो धक्का लागेको पार्टीको ठम्याई रहेको छ ।
पार्टीले झापामा आफ्नो उपस्थितिलाई बलियो र सशक्त पार्दै लगेपछि धेरै एमाले भित्रका इमानदार र प्रस्ट सोच भएका कार्यकर्ता पार्टीमा लामबद्ध भएको अध्यक्ष बेदराज रेग्मीले बताएका छन् ।
पार्टीले झापाका १५ वटै पालिकामा इन्चार्ज, भातृ संगठन, मोर्चाका इन्चार्ज, संघीय इकाई र प्रदेश इकाईका संयोजक र सचिव तोकेको जनाएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विशेष तयारीका लागि ११ सय जनाको जिल्ला प्रचार प्रसार कमिटी समेत गठन गरेको पार्टीले जनाएको छ भने जनबर्गीय संगठनसहित गरेर ७ हजार ४८ जना सदस्य रहेका छन् ।
पार्टीले गत चैत्र १४ गते झापा जिल्ला कमिटीको चौथो पूर्ण बैठकले गरेका विशेष निर्णय सार्वजनिक गर्न पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको हो । झापाका १५ वटै स्थानीय तहमा पार्टीले उम्मेद्वारी दिने अध्यक्ष रेग्मीले बताए । उनका अनुसार पार्टीले २ सय ५१ सदस्यीय झापा जिल्ला कमिटी निर्माण गरेको छ ।
पार्टीको केन्द्र तथा प्रदेशको कार्ययोजना अनुरुप संगठन सुदृढिकरण तथा निर्वाचनको अभियानको तयारीका लागि सबै शक्ति केन्द्रित गर्दै जाने, चुनावका लागि आवश्यक वार्ता, संवाद, तालमेल, गठबन्धन गर्ने र गठबन्धनमा रहेका दहरुबीचको साझा सहमति कायम गर्नका लागि जिल्ला अध्यक्ष वेदराज रेग्मीको संयोजकत्वमा समिति गठन गरेको जानकारी दिएको छ ।
समितिले केन्द्रीय स्तरमा हाल कायम रहेको गठबन्धनलाई जिल्ला, पालिका र वडास्तरसम्म कायम राखेर लैजान छलफल र संवाद थालेको छ । पार्टीले जिल्लामा एक्लै चुनावी मैदानमा जान सक्ने सामाथ्र्य राखे पनि आजको आवश्यकता, उपस्थिति र समन्यायका आधारमा र समुचित सहभागितामूलक तालमेलको पक्षमा रहेको अध्यक्ष रेग्मीले स्पष्ट पारेका छन् ।
पत्रकार भेटघाटमा झापा जिल्ला प्रचार विभाग प्रमुख तीथ सिग्देल, उपसचिव बिपी भट्टराई, जिल्ला सदस्य सानुकुमार लामालगायतको उपस्थिति रहेको थियो ।