बिर्तामोड ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बिर्तामोड नगर कमिटीले बिर्तामोडमा आसन्न स्थानीय तहको निर्वाचन तथा संगठन सुदृढिकरण अभियान सञ्चालन गरेको छ ।
बिर्तामोड नगर कमिटीले शुक्रवार (आज) बिर्तामोडमाआगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई केन्द्रित गरेर अभियान सञ्चालन गरेको हो । नगर कमिटी अध्यक्ष मोहन सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य तथा कमाण्ड इन्चार्ज सावित्रीकुमार काफ्ले (समर) को प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि समर, बिशेष अतिथि केन्द्रिय सदस्य तथा प्रदेश नं. १ कृषिमन्त्री झलकसिंह दर्लामी (सन्देश) केन्द्रिय सदस्य तथा सांसद धर्मशीला चापागाई, केन्द्रिय सदस्य रञ्जित तामाङ, लक्ष्मी न्यौपाने (सरु), प्रदेश सदस्य कुवेर श्रेष्ठ (अरुण) अरुण, झापा सह–इन्चार्ज सीपी कडरिया, पार्टीका बिर्तामोड नगर इन्चार्ज युवराज दाहाल, वाइसिएल केन्द्रिय सदस्य अन्सु पराजुलीलगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पार्टीको सकुर्लर पार्टीका प्रदेश कमिटी सदस्य अरुणले वाचन गरेका थिए । कार्यक्रममा बिर्तामोड नगरका १० वटै वडाको पार्टी अवस्था र बस्तुस्थितिको बारेमा वडा अध्यक्षहरुले जानकारी गराएका थिए ।
कार्यक्रममा वाइसिएल केन्द्रिय सदस्य अन्सु पराजुलीले माओवादी पार्टी परिवर्तनकारी भएको बताउँदै परिवर्तन नचाहने ब्यक्ति माओवादी नहुने जिकिर गरिन् ।
कार्यक्रममा झापा सह–इन्चार्ज ज्योतिसिंह दर्लामी, रोशन कन्दङ्वा, पार्टीका झापा संयोजक राजु आचार्य (अग्नि), सचिव मोहन टुडु (सरोज), झापा नेता बासु दुलाल, वाइसिएल झापा अध्यक्ष दधिराम रिमाल, अखिल –क्रान्तिकारी) केिन्द्रय सदस्य अनिल सुवेदी, झापा अध्यक्ष रञ्जन धमला, भवानीप्रसाद दंगाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन बिर्तामोड नगर कमिटी सचिव गणेश कालिकोटेले गरेका थिए ।
सोही कार्यक्रमकाबीच सीपी कडरियाको संयोजकत्वमा ५०१ निर्वाचन परिचालन मुल समिति गठन भएको छ । त्यस्तै सुदिप खवासको संयोजकत्वमा वाइसिएल, नरेन्द्र फूयालको संयोजकत्वमा बुद्धिजिवी संगठन, रिता मिश्रको संयोजकत्वमा अनेम संघ (क्रान्तिकारी), कृष्ण साँवा लिम्बुको संयोजकत्वमा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, होम आचार्यको संयोजकत्वमा अनेकी संघ (क्रान्तिकारी) लगायतका उप समिति गठन भएको नगर उपाध्यक्ष जेवी जबेगुले जानकारी दिए । सोही कार्यक्रमका बिच सयौको संख्यामा अन्य पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको नगर उपाध्यक्ष जवेगुले जानकारी दिए ।