बुधवारे । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बुद्धशान्ति गाउँ कमिटीले आसन्न स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर विभिन्न बिभागहरु गठन गरेको छ । बुद्धशान्तिमा बिहीवार वसेको विस्तारित बैठक तथा भेलाले आगामी बैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गरेर विभागहरु गठन गरेको हो । 

पार्टीका बुद्धशान्ति गाउँ कमिटी अध्यक्ष प्रेम नेम्वाङको अध्यक्षतामा भएको विस्तारित बैठकमा पार्टीका केन्द्रिय सदस्य तथा संघीय सांंसद धर्मशिला चापागाईको प्रमुख आतिथ्य तथा केन्द्रिय सदस्य लक्ष्मी न्यौपाने (सरु) को बिशेष आतिथ्य रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि चापागाई र बिशेष अतिथि सरुले निर्वाचनमा माओवादीलाई विजय गराउन प्रशिक्षण मुलक निर्देशन समेत दिएका थिए । कार्यक्रमको औचित्यमाथि प्रकाश र स्वागत पार्टीका गाउँ कमिटी अध्यक्ष नेम्वाङले गरेको कार्यक्रममा पार्टीका झापा सह–इन्चार्ज बोधराज दाहाल (असिम) को समेत उपस्थिति रहेको थियो । 

पार्टीले निर्वाचनलाई सहज तरिकाले सम्पन्न गर्ने उदेश्यले पार्टीका झापा सह–इन्चार्ज बोधराज दाहाल (असिम) को नेतृत्वमा ३ सय ५१ सदस्यीय निर्वाचन परिचालन समिति, पार्टीका गाउँ कमिटी इन्चार्ज छत्र तिम्सिना (रोशन) को नेतृत्वमा ७ सदस्यीय चुनाव घोषणा पत्र लेखन समिति, पालिका अध्यक्ष नेम्वाङको नेतृत्वमा ९ सदस्यीय आर्थिक समिति गठन गरेको छ ।

त्यस्तै सुरेश बराइलीको नेतृत्वमा ११ सदस्यीय निर्वाचन ब्यवस्थापन समिति, असिमको नेतृत्वमा ७ सदस्यीय निर्वाचन गठबन्धन दलहरुसँग वार्ता समिति, पवन तिम्सिनाको नेतृत्वमा ५ सदस्यीय मत संवेक्षण समिति, प्रेम ल्वागुनको नेतृत्वमा ७ सदस्यीय सांस्कृतिक बिभाग वाइसिएल झापा अध्यक्ष दधिराम रिमालको नेतृत्वमा ५१ सदस्यीय स्वयमसेवक परिचालन समिति गठन गरेको पार्टीका गाउँ कमिटी इन्चार्ज छत्र तिम्सिना (रोशन) ले जानकारी दिएका छन् ।