बिर्तामोड ।
आसन्न स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा इलामको माई नगरपालिकामा जनता समाज पार्टीले मेयर पदको उम्मेद्वारी घोषणा गरेको छ । जनता समाज पार्टीका माई नगरपालिका अध्यक्ष समेत रहेका टुपेन्द्र एक्तेनले बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि मेयर पदको उम्मेद्वार घोषणा गरेका छन् । पार्टीले नगरका १० वटै वडामा उम्मेद्वारी दिने मेयर पदका उम्मेद्वार एक्तेनले बताएका छन् ।
उनले झापाको बिर्तामोडमा बुधवार पत्रकारसँगको भेटघाटका क्रममा मेयर पदको उम्मेद्वारी घोषणा गरेका हुन् । ‘नगरका बिकृति, बिसङ्गति, भष्ट्राचार र विकासका लागि मेरो मेयर पदमा उम्मेद्वारी हो’ मेयर पदका उम्मेद्वार घोषणा गरेका एक्तेनले भने ‘माई नगरपालिकाका १० वटै वडामा पार्टीले उम्मेद्वारी दिन्छ ।’ नगरमा ९ सय पार्टी सदस्य भएको बताउँदै पार्टीको दर्शन र लक्ष्यले जित्ने दावी गरे । ‘गाउँ–गाउँमा सिंह दरवार होइन सिंह छन्’ उनले भने ‘तर, सिंह दरवार बनाउने उदेश्यले मेरो मेयर पदमा दावी हो ।’
२०४८ सालदेखि राजनीतिकमा सक्रिय रहेको बताउँदै एक्तेनले जनता समाज पार्टीले जनता समक्ष गरेका प्रतिवद्धता पूरा नगरे मर्नु पर्ने बताएका छन् । ‘ पैसा कमाउन मेयर बन्न लागेको होइन’ उनले भने ‘जनताका सेवाका लागि मेरो उम्मेद्वारी हो ।’ मेयर पदको लागि ८० हजार रुपैयाँ मात्र खर्च गर्ने उनको भनाई छ । त्यो भन्दा वढी खर्च गर्न सक्नेले एमाले कांग्रेस जान समेत आग्रह गरे । उनले मेयर भएर आफ्नो होइन पालिकाको परिवर्तन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
गठबन्धन गर्ने सवालमा केन्दको्र सर्कुलर भएपनि अवस्था हेरेर गर्न सकिने बताएका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले ६०४८, नेपाली कांग्रेसले ४४००, नेकपा माओवादीले १८०० र जसपाले १३०० मत ल्याएपनि यो निर्वाचनमा आफुले जित्ने दावी गरेका छन् ।