बिर्तामोड ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बिर्तामोड नगरपालिका वडा नं. १० को बिस्तारित बैठक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । पाटीका वडा नं. १० का अध्यक्ष होमराज रावतको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य कुवेर श्रेष्ठ (अरुण) को प्रमुख आतिथ्य रहेको नगर उपाध्यक्ष जेवी जवेगुले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि अरुणले चुनावमा गठबन्धन हुनु भनेको दोस्रो कुरा भएको बताउँदै प्रमुख कुरा आफु मजबुत हुनु पर्नेमा जोड दिए । उनले पार्टी एजेण्डा एकदम जोडदारका साथ जनता सामु राख्नु पर्ने बताउँदै माओवादीले अहिलेसम्म ढाट्ने काम नगरेको बताए ।
झापा जिल्ला नेता बासु दुलालले मुलुक माओवादीकै एजेण्डामा रहेको बताउँदै निराश हुनु पर्ने कुनै कारण नरहेको बताए । ‘हामी कति सुध्रिने त्यहाँ ध्यान पुर्याउन जरुरी रहेको उनको भनाई थियो । ‘एमसीसी एमाले र कांग्रेसले विना शर्त पास गराउने भएको थियो’ उनले भने ‘नेकपा माओवादीले Indo pacific strategy IPS अन्तरगत नरहने र एक तर्फी लागू नहुने भन्ने शर्त राख्न सक्यो ।’ नगर अध्यक्ष मोहन सुब्बाले सैद्धान्तिक र वैचारिक मजबुदीले केही नहुने बताउँदै चुनावी माहोलमा विचार र सिद्धान्त हेर्नु पर्ने बताए । ‘मुलुकमा माओवादी भन्दा ठुलो पार्टी कुनै हुदैन थियो’ उनले भने ‘चुनाव हो धेरै कुरा ध्यान पुर्याउन आवस्यक देखिन्छ ।’
वाइसिएल नगर अध्यक्ष सुदिप खवासले चुनावमा युवा दस्ताको अति आवश्क पर्ने र एक घर एक युवा आवश्यक हुने भएकाले वाइसिएल गठनको लागि तयार हुन आव्हान गरे । छाया सिग्देलले महिला संगठन गठन गर्न जोड दिइन् भने प्रज्वल करडियाले विद्यार्थीका बिषयमा भनाई प्रस्तुत गरेका थिए ।
बैठकमा वडाअध्यक्ष रावतले नगर पार्टीको सरकुलर वाचन गर्दै आफ्नो भनाई राखेका थिए । कार्यक्रममा नगर उपाध्यक्ष कमल करडिया, सचिव गणेश कालिकोटे सौगात, बुद्धिजीवी गणेश लगायतको उपस्थिति रहेको थियो । स्वागत वडा नं. १० का उपाध्यक्ष युवराज मैनालीले गरेको कार्यक्रमको सञ्चालन वडा सचिव रविन जबेगुले गरेका थिए । कार्यक्रममा विशेष गरेर एमसीसी र निर्वाचन सम्बन्धि कुरा उठेको थियो ।