- धर्मेन्द्र मामा
बिर्तामोड।
कक्षा सुरु हुनु अघिदेखि नै विद्यार्थीहरूको चहलपल बेग्लै किसिमको थियो। सधैँको भन्दा केही समय अगाडि नै विद्यार्थीहरू स्कूल भित्र प्रवेश गरिसकेका थिए। कोही कोठा सफा गर्न थाले कोही बोरा ओछ्याउन थाले।
घरबाट स्कुल आउँदा झोलामा हालेर कसैले बेलना र चौका लिएर आए, कसैले मम पकाउने भाँडो बोकेको देखिन्थ्यो। नीरुता , खुस्बु, टिका माया , कल्पना, प्रतीक्षा हरूको मुहारमा आज बेग्लै चमक छ । आफ्नो जिम्मेवारी पूरा गरेर देखाउनु पर्ने चुनौती छ उनीहरुलाई।
पहिलो घन्टी वित्न लाग्दा कोही पिठो मुस्न थाले, कोही बन्दाकोपी काट्न थाले। कोही चटनी बनाउन अदुवा केलाउन बसे। खुर्सानी र अदुवाको पिरो चटनी बनाउन उनीहरुलाई होस्टेल कि दिदी इन्दिराले पनि साथ दिइरहेकी छन्। सबैले आफूले जानेको काम भ्याइनभ्याइ गरिरहेका छन्। पिठो तयार भए पछि कोही डल्ला पार्न थाले कोही बेल्न थाले , कोही मम को आकार बनाउन थाले। चुलोमा तातो पानी भकभक उम्लिन थाल्यो।
विद्यार्थीहरूलाई उचित निर्देशन दिन शिक्षक कृष्णराज कटुवाल कैले यता कैले उता गरिरहेका छन्। अब भने मम पाक्न थाल्यो। मुस्कान, सन्देश ,ज्वाला लगायतका विद्यार्थीहरु मम बनाउन खटिरहेका छन्। कोही विद्यार्थी अफिसमा गएर शिक्षकहरुलाई आफूले बनाएको मम खानका लागि निमन्त्रणा गर्न जान्छन्।
बिर्तामोड को गरामनीस्थित दुर्गा माध्यमिक विद्यालय का कक्षा ७ क का विद्यार्थीहरुले आज विद्यालयमा नै मिठो मम बनाएर शिक्षकहरुलाई चखाएका छन्। शिक्षक वर्गले आफूले बनाएको मम मीठो मानेर खाएको देखेर विद्यार्थीहरु दङ्ग छन्। खानेकुरा पकाएर मात्र हुँदैन राम्ररी दिन पनि जान्नुपर्छ भन्ने पनि उनीहरु सँगसँगै सिकिरहेका छन्।
मम को स्वाद बारे सर कस्तो भयो मम सुझाव दिनुहोला भन्छन्। कक्षा ७ को पेसा व्यवसाय र प्रविधि सम्बन्धी विषय अन्तर्गत पढाइ हुने पाक शिक्षा सम्बन्धी को प्रयोगात्मक परीक्षा उनिहरुले दिइरहेका छन्। यसअघि उनीहरुले यस्तो प्रयोगात्मक कार्य गर्ने अवसर पाएका थिएनन् । अहिले आफैं सहभागी भएर गर्न पाउँदा उनीहरुमा खुसीको सीमा छैन। यस्तो खुशीको क्षण ल्याउन उनीहरूकै विषयशिक्षक कृष्ण राज कटुवाल ले अवसर जुटाई दिएका हुन्।
विद्यार्थीहरुले आफैं पैसा संकलन गरेर म म बनाउने सामग्रीहरु जुटाएका हुन्। विद्यार्थीहरु पढ्न मात्रै नभएर क्रियाकलाप गर्न बढी रुचि राख्छन् भन्ने स्पष्ट झल्किन्थ्यो। विद्यालयका प्रधानअध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत सदस्यहरूको समेत सहभागिता भएपछि विद्यार्थीहरु औधी खुसी देखिन्थे ।
शिक्षक कटुवालले भने, विद्यार्थीहरुलाई प्रयोगात्मक विधिबाट सिकाउन सके छिटो सिक्ने बानीको विकास हुन्छ र खुसी पनि हुन्छन्। अन्य कक्षाका विद्यार्थीहरु पनि हामीलाई पनि प्रयोगात्मक क्रियाकलाप गराए देखी कति रमाइलो हुन्थ्यो भन्दै कुरा गरिरहेको सुनिन्थ्यो।