बिर्तामोड ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा कमाण्ड इन्चार्ज साबित्रीकुमार काफ्ले (समर) ले एकताबद्ध भएर स्थानीय तहको निर्वाचनमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टी भित्र एक अर्काप्रति भएका अन्तरसंघर्ष तथा तिता मिठा कुरालाई विर्सेर निर्वाचनमा पार्टीलाई जिताउन लाग्न उनले निर्देशन दिएका हुन् ।
पार्टीका प्रदेश नं. १ अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) ले पार्टी भित्रको अन्तरसंघर्ष मिलाउने काम भइरहेको र प्रयास जारी रहेको बताउँदै मिल्न सक्ने स्थानीय तहको निर्वाचन अघि नै मिलाउने र मिल्न नसक्नेलाई निर्वाचनपछि मिलाउने प्रतिवद्धता ब्यक्त गरेका छन् । नेता तथा कार्यकर्ता तितामिठा कुरा भुलेर बैठकमा बाक्लो उपस्थिति भएको देखेर उनले खुसी ब्यक्त गरे । झापामा पार्टीको अवस्था सोचे भन्दा राम्रो भएको उनले बताए ।
नेकपा (माओवादी केन्द्र) झापाले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न विभाग विस्तार गरी चुनाव प्रचारप्रसारलाई अझ तिव्रता दिने भएको छ ।
झापामा तीन वटा पालिका र ३५ वडा जित्ने दावी गर्दै आएको माओवादी केन्द्रले चुनाव प्रचारप्रसारलाई तिब्र बनाउँदै विभाग निर्माण गरी जिम्मेवारी दिएको हो । पार्टीले जिल्ला निर्वाचन प्रचारप्रसार विभाग, कोष तथा आर्थिक ब्यवस्थापन विभाग, अनुगमन विभाग, वार्ता विभागलगायतका विभाग निर्माण गरी जिम्मेवारी प्रदान गर्दै आवश्यक परेमा अन्य विभाग गठन गर्ने जनाएको छ ।
बिर्तामोडमा बुधबार(आज) नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति झापाको प्रथम बैठकले सदस्यलाई विभिन्न जिम्मेवारी समेत प्रदान गरेको छ । पार्टीका झापा संयोजक राजु आचार्य (अग्निी) को अध्यक्षतामा भएको प्रथम वैठकमा पार्टीका केन्द्रीय सदस्य तथा कमाण्ड इन्चार्ज समरको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने (सरु) ले पार्टीको केन्द्रले तयार पारेको परिपत्र वाचन गरेकी थिइन् । पार्टीकी केन्द्रीय निर्वाचन आयोगकी सदस्य सुशिला कन्दङ्वा, पार्टीका प्रदेश नं. १ अध्यक्ष मिक्सो, उपाध्यक्ष मणिकुमार साम्पाङ (विजय), शिवकुमार डाँगी, प्रदेश सचिव गणेश उप्रेती, सह–सचिव रचना राई, कोषाध्यक्ष रेवतराज पुरी (गगन) झापा सह–इन्चार्ज सीपी कडरिया, ज्योतिसिंह दर्लामी, पुरुषोत्तम आचार्य (राजु), रोशन कन्दङ्वा, बोधराज दाहाल (असिम) लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन झापा सचिव मोहन टुडु (सरोज) ले गरेका थिए ।