सुरुङ्गा । 

कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलको विषयमा सञ्चारमाध्यममा आएका विषयबस्तुको छानविन समिति गठन गरी सत्य, तथ्य सार्वजनिक गर्न सुरुङ्गामा क्रियाशील राजनीतिक दलहरुले दोषीउपर कारबाहीको सिफारिस गर्न जोडदार माग गरेका छन् ।

नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले दक्षिण कोरियाको भ्रमणपश्चात कोरियाको नोहेगुन पालिकासँग  सम्झौता गरी कृषि प्रशिक्षार्थीको रुपमा कनकाई नगरका कृषकहरुलाई दक्षिण कोरिया पठाउने  विषयमा भएको सम्झौताको विषय र नगरप्रमुखको प्रेस विज्ञप्तिप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।

नेपाली कांग्रेस कनकाई नगर सभापति दुर्गा प्रसाई, नेकपा माओवादीका नगर अध्यक्ष यामनाथ सेढाई, साझा विवेकशीलका कनकाई नगर अध्यक्ष  गोपाल चुडाल, जनता समाजवादी पार्टीका नगर अध्यक्ष रत्नकुमार श्रेष्ठ, राप्रपाका नगर अध्यक्ष ज्योतिकुमार उप्रेतीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएका हुन् ।

यसअघि सम्पन्न अन्तरक्रिया कार्यक्रममा राजनीतिक दलका तर्फबाट कोरिया जान दुईलाख पचास अजारसम्म लाग्नसक्ने कुरा राखिएको, धनिपुर्जा राख्ने कुरा गलत हुन्छ भनी प्रष्ट विचार राखेको, कनकाई नगरभित्रका कृषकलाई मात्र पठाउनुपर्ने स्पष्ट कुरा राखेको विज्ञप्तिमा उल्लेख छ।

श्रम स्वीकृति नलिई कोरियाको गोहेगुन नगरपालिकासँग सम्झौता गरेर कनकाई नगरपालिकाको कागजात प्रयोग गरी नगरप्रमुखले हस्ताक्षर समेत गरेर कामदार पठाएको कुरालाई समन्वय मात्रै भन्नु आपत्तिजनक रहेको उल्लेख गर्दै विज्ञप्तिमा खोपकार्डमा देखिएको विवाद, अन्य ब्यक्तिलाई रकम भुक्तानी गर्न लगाएको, जम्मा लागतको विल भौचर रसिद पेश गरेको विषयमा आफूहरुको असहमति रहेको जनाइएको छ ।

यही विषयमा नेपाली कांग्रेस कनकाई नगर समितिका सभापति दुर्गाप्रसाद प्रसाई, सचिव दिपक खतिवडा र रेनुप्रसाद पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा कोरिया पठाउने किसानहरुसँग बढी पैसा लिएको, अनधिकृत रुपमा धनीपूर्जा राखेको, नगरप्रमुखले भ्रमपूर्ण अभिब्यक्ति दिएको, नगरप्रमुखको सहीछापसहित गरिएको कार्यलाई समेत समन्वय मात्रै गरेको भनी गैरजिम्मेवारीपूर्ण अभिब्यक्ति दिएकोप्रति खेद प्रकट गरिएको छ ।

यसविषयमा सर्वपक्षीय छानविन समिति गठन गरी दोषीउपर कडा कारबाहीको माग पनि विज्ञप्तिमार्फत गरिएको छ ।