बिर्तामोड । 

नेपाली कांग्रेस निकटका प्राध्यापकहरुले नजिकिएको स्थानीय निर्वाचनमा ढुल्मुले मत समेट्न पार्टीलाई सुझाव दिएका छन् ।नेपाली काङ्ग्रेस झापाका पदाधिकारी एवं विभिन्न क्याम्पसमा अध्यापनरत प्राध्यापकहरुको भेलामा बोल्ने अधिकांश प्राध्यापकहरुले आफ्ना मतदाताको मत सुरक्षित राखेर ढुल्मुले मत आफ्नो पक्षमा तान्न सके मत परिणाम कांग्रेसका उम्मेद्वारको पक्षमा हुने सुझाव दिएका हुन् ।  निर्वाचनमा ढुल्मुले मत नै निर्णायक हुने समेत प्राध्यापकहरुको भनाइ छ ।

जनता समृद्ध भए कम्युनिष्टको राजनीति नै सकिने बताउँदै प्राध्यापकहरुले कम्युनिष्टले समृद्धिको सपना बाँडेर झुटको खेती गरिरहेको कुरा जनतालाई बुझाउनु पर्नेमा जोड दिए ।

भेलाका प्रमुख अतिथि एवं नेपाली काङ्ग्रेस  झापाका सभापति देउकुमार थेबेले झापामा क्याम्पसहरुको अवस्था, प्रजातन्त्रबादी प्राध्यापकहरुको अवस्थाका बारेमा अध्ययन गरेर सांगठनिक सुदृढीकरणका लागि कार्य गर्न समेत प्राध्यापकहरुलाई आग्रह गरेका छन् ।

कार्यक्रममा मेची बहुमुखी क्याम्पसका सुशिलकुमार खनाल र नेत्र नेपाल, दमक बहुमुखी क्याम्पसका नेत्र बुढाथोकी, राम गिरी र रत्न थापा, कनकाई क्याम्पसका विकासप्रसाद उप्रेती र तुलसी कार्की, मनकामना कलेजका युवराज दाहाललगायतले आ–आफ्ना धारणा ब्यक्त गरेका थिए । कार्यक्रममा विषय प्रवेश नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमगााईले गराएको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।