काठमाडौं । 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट सरकारमा गएका मन्त्रीहरू हेरफेर नहुने बताएका छन् ।  

केही दिन यता पार्टीले सरकारमा पठाएका मन्त्रीहरू फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिने तयारी गरेको समाचारहरू सार्वजनिक भइरहँदा पार्टी अध्यक्ष नेपालले त्यस बिषयमा स्पष्ट पारेका छन् । उनले उक्त हल्लामा सत्यता नभएको स्पष्ट पारेका हुन् । 

अध्यक्ष नेपालले पार्टी मन्त्री हेरफेर गर्ने पक्षमा नरहेको बताउँदै गलत र नियोजित रूपमा हल्ला फिँजाइएको बताए । उनले कार्यकर्तालाई हल्लाकोपछि नलाग्न आग्रहसमेत गरे ।  मन्त्री फेर्दैछन् भन्ने हल्ला चलेपछि आफ्ना पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई कर्मचारीले नटेरेको उनले बताए । 

एकीकृत समाजवादीबाट सरकारमा विरोध खतिवडा, प्रेम आले, किसान श्रेष्ठ, रामकुमारी झाँक्री  सहित भवानी खापुङ राज्यमन्त्री छन्।