झापा ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) झापाले आसन्न स्थानीयतहको निर्वाचनलाई लक्षित गरी नेकपा एमालेका नेता तथा कार्यकर्ताले मतदाताहरुको धार्मिक अस्थामाथि प्रहार गरेको घटनाप्रति आपत्ति जनाएको छ ।
मतदातालाई भ्रम सिर्जना गरेर उनीहरुलाई आतङ्कित बनाएर धार्मिक मठमन्दिर, गुम्बा, मस्जिदमा लगेर भोट गर्न कसम खुवाउने जस्ता हर्कत गरेको भन्दै पार्टीले घोर भत्सना समेत गरेको छ ।
एमालेका नेता तथा कार्यकर्ताको निर्लज्ज गतिविधि सच्याउन माओवादी केन्द्र झापाले चेतावनी दिएको छ । नागरिकलाई आफ्नो मतधिकारको स्वाभिमान पूर्वक अभिव्यक्त गर्न पाउने अधिकार भएकाले मानव अधिकार विरोधि हर्कत सच्याउनु पर्ने माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य (अग्नि) ले चेतावनी दिएका हुन् । उनले मतदातालाई धार्मिक बन्दक बनाएर चुनावी प्रचारप्रसार गर्ने निकृष्ट खेल तत्काल बन्द गराउन निर्वाचन आयोग, मानवअधिकारवादी तथा सम्बन्धित पक्ष समक्ष आग्रह गरेका छन् ।
माओवदी केन्द्र झापाले सोमबार प्रेस बिज्ञप्ती प्रकाशित गर्दै संविधान अधिकारको रक्षाको निम्ती माओवादी पार्टी निरन्तर लडिरहने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।
पार्टीले निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय झापालाई जिल्लामा कुनैपनि मठ मन्दिर, गुम्बा र मस्जिदहरुमा गरिने यस्ता खाले कार्यक्रम तथा गतिविधि अनुगमन गरी तत्काल रोक्न आग्रह गरेको छ । पार्टीले धार्मिक स्थलमा गरिने त्यस्ता किसिमका कार्यक्रम तथा गतिविधिमा संलग्न नहुनसमेत सवै मतदातामा आग्रह गरेको छ ।
पार्टीले जारी गरेको बिज्ञप्तीमा झापा संयोजक अग्नि र सचिव मोहन टुडुले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा झापा सह–इन्चार्ज सीपी कडरिया, पुरुषोत्तम आचार्य, जिल्ला नेता बासु दुलाललगायतको उपस्थिति रहेको थियो ।