बिर्तामोड  ।

 नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले केपी ओली र नेकपा एमालेले स्थानीयदेखि केन्द्रीय सत्तासम्म गरेका भ्रष्टाचार र अनियमितताको भण्डाफोर गर्दै जनताका घर–घरमा वास्तविकता बुझाउन जरुरी रहेको बताएका छन् ।

स्थानीय विन्ध्यबासिनी मन्दिर परिसरमा आयोजित नेपाली कांग्रेस अर्जुनधारा वडा नं–४ को टोल नम्बर १ र २ को संयुक्त भेलालाई सम्बोधन गर्दै सचिव हुमागाईले भ्रष्टाचार गरेर आर्जन गरेको पैसाले मतदाता किन्ने सपना नदेख्न ओलीलाई चेतावनी दिए।

टोल नम्बर–१ का सभापति सोमनाथ गिरी मुक्ति र २ नम्बर टोल सभापति रञ्जन बस्नेतको संयुक्त सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस अर्जुनधारा नगर समितिका सभापति हेमराज खरेल, महाधिवेशन प्रतिनिधि लिलादेवी कटुवाल, प्रदेश ख का सदस्य मदन थापा, नगर उपसभापति चतुर्भुज काफ्लेलगायतका बक्ताहरुले केपी ओलीको कुशासनमा देश र जनताले भोग्नुपरेका समस्यामाथि प्रकाश पारेका थिए । सो भेलामा टोलमा विकास निर्माणको आवश्यकता, स्थानीय घोषणापत्रमा समेटिनु पर्ने विषयका बारे छलफल भएको थियो ।

४ नम्बर वडा सभापति खेम काफ्लेले विषयवस्तुमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन गणेश थापाले गरेका थिए ।