बिर्तामोड ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश कमिटी सचिवालय सदस्य तथा झापा सह–इन्चार्ज सीपी कडरियाले अहिलेको व्यवस्था ल्याउने मुख्य हकदार माओवादी पार्टी भएको बताउँदै उक्त ब्यवस्थालाई टिकाउने जिम्मा पनि पार्टीकै भएको बताएका छन् ।
उनले गणतन्त्र, संघीयता, समावेशी समानुपातिकलगायतका ब्यवस्था निरङ्कुश राजतन्त्रको अन्त्य गरेर माओवादीले नै ल्याएको दावी गरेका छन् । ‘यसलाई रक्षा र बिकास गर्नका लागि फेरि पनि यो देशको जिम्मा लिनुपर्छ’ नेता कडरियाले भने । उक्त ब्यवस्थाको रक्षा र बिकासका लागि माओवादी सवै एकताबद्ध हुनुपर्ने नेता कडरियाले जोड दिए ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बिर्तामोड वडा नं. ५ ले आइतवार आयोजना गरेको भुमि सम्बन्धी अन्र्तक्रिया तथा निर्वाचन केन्द्रीत कार्यक्रमलाई सम्बोधन गर्दै नेता कडरियाले त्यस्तो बताएका हुन् ।
बिर्तामोड नगरले विभिन्न बिषयमा वडागत चुनाव केन्द्रित कार्यक्रमलाई तिब्रता दिदै आएको पार्टीका नगर उपाध्यक्ष जेवी जबेगुले जानकारी दिए । बिर्तामोड नगर भित्र रहेका १० वटै वडामा पार्टीको जनवर्णिय संगठन निर्माण, सवै वडामा बैठक र चुनाव केन्द्रीत कार्यक्रमलाई तिब्रता दिएको नगर उपाध्यक्ष जवेगुले बताए ।
पार्टीका वडा नं. ५ का अध्यक्ष धन डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा झापा सह–इन्चार्ज कडरियाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रदेश सचिवालय सदस्य तथा झापा संयोजक राजु आचार्य (अग्नि) , प्रदेश सदस्य कुवेर श्रेष्ठ (अरुण), भुमि ब्यबस्थापन आयोग झापा सदस्य तारा सुबेदी, बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बा, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य अनिल सुवेदीलगायत आ–आफ्नो भनाई प्रस्तुत गरेको थिए ।
स्वागत वडा सदस्य जगदिश मित्तलले गरेको कार्यक्रममा जिल्ला नेता बासु दुलाल, नगर उपाध्यक्ष कमलप्रसाद कडरिया, सचिव गणेश कालिकोटे, सह–सचिव सन्दिप प्रसाईसहित पदाधिकारीको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव डम्वरबिक्रम काफ्लेले गरेका थिए ।