विर्तामोड । 

नेपाली कांग्रेस झापाले ‘गाउँ–गाउँ जाऔं–कांग्रेस जिताऔं’ अभियान अन्तर्गत वडा एवं टोल केन्द्रित कार्यक्रम तय गरेको छ ।नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न पदाधिकारी एवं क्षेत्रीय सभापतिहरु सहभागी बैठकले आगामी चैत ७  गतेदेखि ११ गतेसम्म झापाका १ सय ३१ वटै वडामा वार्ड एवं टोल केन्द्रित कार्यक्रम तय गरेको हो ।

बैठकले २०७८ चैत ७ गते झापाका १ सय ३१ वटै वडाको बैठक राख्न, ९ गते सबै वडाका  सबै टोलहरुमा टोल भेला गर्न र चैत ११ गते सबै वडामा वडा भेला गर्न क्षेत्रीय, प्रदेशसभा क्षेत्र, गाउँ÷नगर, वडा एवं टोल समितिहरुलाई निर्देशन गरेको छ ।

वडा समिति बैठकबाट टोल प्रतिनिधि खटाउन निर्देशन गरेको बैठकले वडा भेलामा वडाभित्रका केन्द्रीय सदस्य, १ नम्बर प्रदेश कार्यसमिति, जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्य समिति÷गाउँ–नगर कार्यसमितिका पदाधिकारी सदस्य सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरु, क्रियाशील सदस्य, वडा कार्यसमिति, टोल कार्यसमिति, नेपाल शिक्षक संघ, तरुण दल, नेपाल महिला संघ लगायतका भातृ तथा शुभेच्छुक संघसंस्था र बुथ समितिका साथै पार्टीमा आस्था राख्ने सबैलाई सहभागी गराई बृहत् कार्यक्रम गर्न आग्रह गरेको  सचिव कृष्ण हुमागाईले जानकारी दिए ।

वडा एवं टोल भेलामा नेपाली कांग्रेस झापाले तयार पारेको अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रमका विषयवस्तु एवं नेपाली कांग्रेस केन्द्रीय समितिले तयार पारेको एमसिसि भ्रम र यथार्थ समेटिएको पुस्तिकामा भएका विषयवस्तुबारे जानकारी गराउन पनि वडामा खटिएका जिल्ला प्रतिनिधिहरुलाई आग्रह गरेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।