बिर्तामोड।
झापाको विर्तामोड नगरपालिकाका दशवटा वडाहरु मध्ये विकासको दृष्टिकोणले सबैभन्दा पछाडि परेको वडा नम्बर ४ देखिएको छ। सानो वडा भएर पनि उचित बिकास हुन नसक्दा वडाबासीहरु जनप्रतिनिधिहरूप्रति खुसी छैनन्। पाँच बर्ष बितिसक्दा पनि वडाको आफ्नो भवन छैन। भाडामा लिएर चलेको वडा कार्यालयसम्म जान मुख्य राजमार्ग बाट १ सय मिटरको दुरीमा रहेको छ तर अहिलेसम्म पनि कालो पत्रे वा पेभर्स गर्ने काम भएको छैन।
वडा कार्यालय रहेको आदर्श नमुना टोल बासीहरुले पटकपटक बिकास निर्माणका लागि पहल गरेको थियो तर अहिलेसम्म पनि टोलको अनुरोध सुनुवाई भएको छैन। नगरपालिकाले १ नम्बर टोलको बाटो पेभर्स गर्न छुट्याएको बजेट काटेर अन्यत्र लगेको नाली निर्माण उपभोक्ता समितिका अध्यक्ष डिल्लीराम प्रसाईंले बताए।
उनले उक्त टोलको समस्याको रूपमा रहेको नाली निर्माणमा समेत धेरै दुःख पाएको गुनासो गरे । टोलबासीले भोट दिएर जितेका जनप्रतिनिधिले जनताको गुनासो सुनुवाई नगर्नु दुःखद भएको बताए। २ सय मिटर बाटो निर्माण गर्न अर्को निर्वाचन पर्खन बाध्य छन् आदर्श टोलबासी।
स्थानीय निकायको निर्वाचन घोषणा संगै अहिले वडा कार्यालय जाने बाटोमा पेभर्स बिछ्याउने काम शुरु भएको छ तर त्यो पनि अधुरै रहने भएको छ। आदर्श नमुना टोल विकास संस्थाका सचिव नवराज खरेलले आफ्नो कार्यकालमा टोलबासीको आवश्यकता अनुसारको काम गर्न नसकेकोमा दुःख व्यक्त गरे।
वडा जनप्रतिनिधि र नगरपालिका विच उचित समन्वय हुन नसक्दा धेरै जसो योजना कार्यान्वयन गर्न नसकेपछि अब आउने निर्वाचनमा कस्तो जनप्रतिनिधिलाई भोट हाल्ने भन्ने बहस सुरु भएको छ।