बिर्तामोड । 

नेपाली काङ्ग्रेस केन्द्रीय  समितिको निर्देशन तथा  झापा जिल्ला समितिको निर्णयानुसार झापामा ‘गाउँ– गाउँ जाऔ– काङ्ग्रेस जिताऔ’ अभियान तीब्र पारिएको छ । अभियान अन्तर्गत मंगलबार  झापाको क्षेत्र नम्बर–२ र ४ मा क्षेत्रस्तरीय अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

पार्टीको झापा क्षेत्र नं–२ ले झापा पार्टी कार्यालयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमको उद्घाटन केन्द्रीय प्रतिनिधि एवं केन्द्रीय सदस्य उमेशजङ रायमाझीले गरेका हुन् ।  प्रमुख अतिथि रायमाझीले आचार, बिचार र सिद्धान्तबाट च्युत भएर बिश्वमा सकिदै गरेको कम्युनिस्ट शक्तिसँग अब निर्णायक लडार्इ लड्नुपर्ने बेला आएको बताएका छन् ।

 नेपाली काङ्ग्रेस झापा सभापति देउकुमार थेबेले  संगठनलार्इ चलायमान बनाउन वडा प्रतिनिधिहरु तोकिसकिएको जानकारी दिदै जिल्ला प्रतिनिधिहरुले वडा र टोल समिति गठन एवं बैठकहरु तिब्र पारेको बताए ।

  क्षेत्रीय सभापति खगेन्द्र मैनालीले अन्तरक्रिया कार्यक्रमबारे जानकारी तथा स्वागत गरेका थिए ।  चन्द्र चुडालले सञ्चालन गरेको कार्यक्रममा सहजीकरण लक्ष्मी खनाल कोइराला, रुपक दाहाल, रमेश दाहाल एवं भरत प्रसाईले गरेका थिए।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाई, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, जिल्ला उपसभापति शेरबहादुर भट्टराई, सचिव कृष्ण हुमागाई, प्रदेश नं–१ का सदस्यहरु रञ्जिता कार्की, मिरा खड्का, राजकुमार बराइली लगायतको आतिथ्य रहेको थियो ।

यसैबीच झापा क्षेत्र नं–४ को कनकाईको सुरुङ्गामा पनि अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । क्षेत्रीय सभापति जयनारायण शाहको सभापतित्व र केन्द्रीय सदस्य उमेशजंग रायमाझीको प्रमुख आतिथ्य एवं झापा सभापति देउकुमार थेवेको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा विषयप्रवेश झापा क्षेत्र नं–४ ख का प्रदेश क्षेत्रीय सभापति ख्यामप्रसाद सिटौलाले गराएका थिए । 

नेपाली कांग्रेस १ नं प्रदेश समितिका सदस्यहरु किरण भट्टराई, उत्तम चौंलागाई, मिरा खड्का, झापाका उपसभापति शेरबहादुर भट्टराई, सचिव कृष्ण हुमागाई, सहसचिव कमल भण्डारी लगायत पदाधिकारीहरुको उपस्थिति रहेको कार्यक्रममा बसन्त नेपाल र लक्ष्मी शिवाकोटीले सहजीकरण गरेका थिए ।

दुवै कार्यक्रममा सम्बन्धित क्षेत्रका महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य, क्षेत्र एवं प्रदेश क्षेत्रीय समितिका पदाधिकारी, वडा सभापति, भातृ एवं शुभेच्छुक संघ–संस्थाका सभापतिहरुको सहभागिता रहेको थियो ।