विर्तामोड । 

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले  सुकुम्बासी समस्या समाधानका लागि आगामी चुनावमा कांग्रेसलाई जिताउन अपिल गरेका छन् । 

नेपाली कांग्रेस अर्जुनधारा नगरपालिका वडा–१० को ५ नम्बर टोल समितिको आयोजनामा सम्पन्न कार्यकर्ता प्रवेश कार्यक्रममा त्यस्तो बताएका हुन् । 

प्रमुख अतिथि समेत रहेको  थेवेले भने ‘यस क्षेत्रमा कम्युनिष्टहरुले २० बर्ष शासन गरे पनि विकास भएको छैन, सुकुम्बासी समस्या समाधान भएको छैन । कम्युनिष्टहरुले जनतालाई सँधै भ्रमजालमा राखेका छन्, अब यस्तो भ्रममा नपर्नुहोस् ।’ कांग्रेस नेतृत्वको सरकारले सुकुम्बासी समस्या समाधान थालिसकेको उनको भनाई थियो।

टोल सभापति मनकुमार लिम्बूको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, पूर्व सचिव प्रेम सम्बाहाम्फे, जिल्ला सदस्य सरस्वती सिटौला, २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली,  अर्जुनधारा नगर सभापति हेमराज खरेल, तिला राई, लगायतले शुभकामना मन्तब्य राखेका थिए । 

कार्यक्रममा नेकपा एमाले र माओवादी पार्टी परित्याग गरी तिला राईको नेतृत्वमा ३५ जना कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशी कार्यकर्तालाई साधारण सदस्यता स्वागत गरिएको थियो । स्वागत खगेन्द्र सुवेदीले गरेको कार्यक्रममा र सञ्चालन टिकाराम कलिङ्वाले गरेका थिए ।