- धर्मेन्द्र मामा
बिर्तामोड ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संसारकै उत्कृष्ट संविधान नेपालले पाएको तर यसलाई सञ्चालन गर्ने व्यक्तिहरूको निकृष्ट मस्तिक भएकाले नेपाली जनताले चाहे अनुसारको शासनव्यवस्था पाउन नसकेको बताएका छन्। झापाको विर्तामोडस्थित मनकामना कलेजमा नेपाल मानव अधिकार संगठन झापा द्वारा आयोजित एकदिने प्रशिक्षण कार्यक्रममा बोल्दै गलत कुरा स्वीकार गर्नु र मौन बस्नु लोकतान्त्रिक आचरण होइन र नागरिक केन्द्रित राजनीतिमा मात्र मानव अधिकार संरक्षण हुने अधिवक्ता त्रिपाठीले बताए।
प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाल मानवअधिकार संगठनका केन्द्रीय अध्यक्ष अधिवक्ता महा मुनिश्वर आचार्यले सर्वसाधारण नागरिकले मानवअधिकार र संविधानले प्रत्याभूत गरेका मौलिक अधिकारहरूको जानकारी नपाएसम्म पिडित हुनुपर्ने बताउँदै मानवअधिकारको क्षेत्रमा काम गर्ने अधिकारवादीहरुले सर्वसाधारणसम्म आफ्नो पहुँच पुर्याउनुपर्ने बताए।
नेपाली कांग्रेसका झापा जिल्ला सचिव कृष्ण हुमागाईंले राजनीतिक दलहरुले मानवअधिकारको पूर्ण रूपमा पालन गरेमात्र सही लोकतन्त्र स्थापना गर्न सकिने बताउँदै मानवअधिकारको संरक्षणका लागि नेपाली कांग्रेस पूर्ण रुपमा रहेको बताए। मानवअधिकार संगठनका केन्द्रीय सदस्य राजकुमार राउतले मधेस प्रदेशमा मानवअधिकार उल्लंघनका घटनाहरु धेरै हुने गरेको बताउँदै सर्वसाधारणको मानवअधिकार संरक्षणमा सरकार उदासिन हुन गरेको बताए।
राष्ट्रिय मानवअधिकार आयोग १ नम्बर प्रदेश की प्रमुख नीतु गड्तौलाले महिला हिंसा र घरेलु हिसा बढेको बताउँदै त्यस्ता हिंसा हरुलाई न्यूनीकरण गर्न मानव अधिकारका आधारभूत जानकारी सर्वसाधारणले पाउनुपर्ने बताइन्। अधिवक्ता डा बिष्णु पाठकले अन्तर्राष्ट्रिय कानूनहरू सम्झौताहरु र संक्रमणकालीन कानुनको व्यवस्थापन बारेमा आफ्नो धारणा राखेका थिए।
मानवअधिकार संगठन झापाका अध्यक्ष डिल्लीप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाली सेना तथा विभिन्न संघसंस्था का प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।कार्यक्रममा संगठनका सदस्य भुपेश मर्डी ले स्वागत गरेका थिए। अन्तरक्रियामा उठेका विभिन्न जिज्ञासाहरुको जवाफ अधिवक्ता दिनेश त्रिपाठी राष्ट्रिय मानवअधिकार आयोगकी ज्ञ नम्बर प्रदेश प्रमुख नीतु गड्तौला लगायत ले दिएका थिए।