बिर्तामोड ।

 नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बिर्तामोड नगरको नेतृत्व चयन टुङ्गो लागेको छ । माओवादी केन्द्रले बिर्तामोड नगरको लामो समयको रस्साकसीपछि कमिटीको पदाधिकारी टुङ्गो लगाएको हो ।

शुक्रवार बिर्ताबजारस्थित नगर पार्टी कार्यालयमा भएको भेलाले अध्यक्षमा मोहन लिम्बुलाई जिम्मेवारी दिएको घोषणा गरेको छ । त्यस्तै समितिको उपाध्यक्षमा जनबहादुर जवेगु र कमलप्रसाद कडरियालाई चयन गर्दै महिला उपाध्यक्ष कमिटीको बैठकले मनोनयन गर्ने जनाइएको छ । 

६५ सदस्यीय नगर कमिटी रहने बिर्तामोड नगरको सचिवमा गणेश कालिकोटे, सह–सचिवमा सन्दीप प्रसाई र कोषाध्यक्ष कृष्ण लिम्बु चयन भएका छन् । 

नेकपा माओवादी केन्द्र बिर्तामोड नगरका निर्वाचन आयोग समिति संयोजक खेम गौतमको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने सरुको प्रमुख आतिथ्य रहेको छ । 

कार्यक्रममा पार्टीका झापा संयोजक राजु आचार्य (अग्निी) ले पार्टीको गुट उपगुटलाई तोडेर एकताबद्ध भएर स्थानीयतहको निर्वाचनमा लाग्न सवैलाई निर्देशन समेत दिएका छन् । 

कार्यक्रममा पार्टीका झापा सह–इन्चार्ज  सिपी कडरिया, ज्योतिसिंह दर्लामी, रोशन कन्दङ्वा, प्रदेश कमिटी सदस्य कुवेर श्रेष्ठ (अरुण), झापा सचिव मोहन टुडु, नेता बासु दुलाल, अनेमसंघ केन्द्रीय सचवालय सदस्य निरु खतिवडालगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रमको सञ्चालन बिर्तामोड नगर इन्चार्ज युवराज दाहालले गरेका थिए । भोली (शनिवार) झापा पार्टी कार्यालयमा सपथ ग्रहण र प्रशिक्षण कार्यक्र रहेको नगर इन्चार्ज दाहालले जानकारीसमेत दिएका छन् ।