विर्तामोड ।

 ११२ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर प्रजातान्त्रिक आन्दोलनका अग्रणी महिला नेतृहरुलार्इ सम्मान गरिएको छ ।नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर–२ को आयोजनामा सम्पन्न कार्यक्रममा राणा शासनको अन्त्य, तत्कालीन राजा महेन्द्रले २०१७ सालमा जननिर्वाचित सरकारलाइ अपदस्त गरी एकदलीय तानाशाह लादेपछि प्रजातान्त्रिक समाजबाद, बहुदलीय ब्यवस्था र वाक् एवं अभिव्यक्ति स्वतन्त्रताका लागि संघर्ष गर्नुभएका सातजना महिला नेतृहरुलाइ सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा धर्मकला प्रसाईं, दिब्या प्रसाईं, यज्ञकुमारी सिटौला, उमा पोखरेल, पद्मा बजगार्इ, मिठु ढकाल र निर्जला बन रहनुभएको छ । सम्मानित अधिकांश नेतृहरुले निर्दलीय शासन ब्यवस्थाका बेला कांग्रेसले सञ्चालन गरेको प्रजातान्त्रिक समाजवादी आन्दोलनमा लागेकै कारण जेल, नेल, यातना, निर्वासन एवं सर्वस्वहरणसम्मको यातना भोगेका थिए ।

सम्मानित ब्यक्तित्वहरुलाई प्रमुख अतिथि एवं कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौला, पूर्व मन्त्री उदयसमशेर राणा, विशेष अतिथिहरु नेपाली कांग्रेस १ नं प्रदेश सभापति उद्वव थापा, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, पूर्व सांसद डिल्लीप्रसाद सिटौला, झापा सभापति देउमान थेवे, सचिव कृष्ण हुमागाई, २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली लगायतले सम्मानपत्र र दोसल्लाले सम्मान गरेका थिए।  

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले कम्युनिष्टलाई मतदान गर्नु राष्ट्रघात हुने सन्देश लिएर गाउँ–टोलमा पुग्नुपर्ने बताए। संगठनभित्र मुद्धा, विचार र बल चाहिने उल्लेख गर्दै नेता संग्रौलाले आगामी २७ गतेबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु ‘घर–घर जाऔं कांग्रेसलाई जिताऔं’ भन्ने मूल नारासहित गाउँ–टोलसम्म पुग्ने बताए।

कम्युनिष्ट शासन भएका मुलुकहरुमा महिला अधिकारको अवस्था कमजोर रहेको उल्लेख गर्दै संग्रौलाले लोकतान्त्रिक शासन ब्यवस्थामा मात्रै महिला, पिछडिएको वर्ग र सबै जातजातिको अधिकार सुरक्षित हुने दावी गरे । 

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी लगभग चारसय कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशी कार्यकर्तालाई प्रमुख अतिथि, विशेष अतिथिहरुले पार्टीको साधारण सदस्यता प्रदान गर्दै खादा र अविरले स्वागत गरेका थिए । 

कार्यक्रममा नेपाल चिया बगान श्रमीक संघका अध्यक्ष दीपक तामाङ, शहीद परिवारका केदार समशेर गिरी र युवराज विमली, प्रदेश सदस्य मिरा खड्का, राजकुमार बराईली, जिल्ला सदस्यहरु सरस्वती सिटौला, पार्वता गिरी, एलबहादुर गिरी, झुमा बेडारी, लीला ढकाल, प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, महाधिवेशन प्रतिनिधिहरु उमा शिवाकोटी, टिका प्रसाई, भुमा घिमिरे लगायत नेपाली कांग्रेसमा आबद्ध विभिन्न तह र तप्काका महानुभावहरुको उल्लेख्य उपस्थिति रहेको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए।

खगेन्द्र मैनालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत किरण श्रेष्ठ र सञ्चालन सचिव राम धिमालले गरेका थिए ।