झापा । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले शहिद सप्ताहको अन्तिम दिन आज (शनिवार) झापाका शहिद परिवारसँग भेटघाटसहित उनीहरुका परिवारलाई सम्मान गरेको छ । 

जनयुद्धका पहिलो शहिद दिलबहादुर रम्तेल र सुखानी हत्याकाण्डका ५ जना शहिदहरुको स्मृतिमा झापामा प्रत्येक फागुन १४ देखि २१ गतेसम्म शहिद सप्ताह मनाउदै आइएको छ । जनयुद्धका शहिद रम्तेलको २०५२ फागुन १४ गते हत्या भएको थियो । 

शहिद सप्ताहको अन्तिम दिनको अवसर पारेर माओवादी केन्द्रले भद्रपुर नगरपालिकाका ८ जना शहिद परिवारसँग भेटघाट गरेको पार्टीका भद्रपुर नगर इन्चार्ज नरेश संजेलले जानकारी दिए । 

sahid 1

पार्टीका प्रदेश सदस्य तथा ३ नं. क्षेत्रका इन्चार्ज डिल्ली घिमिरे( हिक्मत), प्रदेश सदस्य तथा अनेम संघ (क्रान्तिकारी) की केन्द्रीय सचिवालय सदस्य निरु खतिवडा, प्रदेश सदस्य तथा अनेम संघ (क्रान्तिकारी) की झापा अध्यक्ष बन्दना झागर, प्रदेश सदस्य निरा संजेल, नगर इन्चार्ज संजेल, नगर सह–इन्चार्ज मेदनी शिवाकोटी, एनपी वानेम, पुकारचन्द्र राजवंशीसहितको टोलीले शहिद परिवारसँग भेटघाट गरेको हो । 

टोलीले भद्रपुर १ का शहिद शंकर घिमिरे (नन्दु), मानवीर राई (सोल्टी), भद्रपुर–३ कि मनमाया बिक, भद्रपुर ४ का दीपक पोखरेल, भद्रपुर–७ का खगेन्द्र पौडेल, भद्रपुर–८ का देवीप्रसाद वाग्ले, भद्रपुर ९ का गंगाराम मिश्र र जनआन्दोलन २०६२/०६३ का शहिद सुरज विश्वासका परिवारसँग भेटघाट र सम्मान गरेको जनाइएको छ ।