झापा । 

झापाको मेचीनगर नगरपालिकाले सिमा अनुगमन गरेको छ । नगरले भारतसँगको ३२ किलोमिटर अन्तर्राष्ट्रिय सीमा अनुगमन गरेको हो । नगरको पूर्वी सीमा क्षेत्रको अनुगमनका क्रममा ७३ वटा सीमास्तम्भ हराएको पाइएको नगरप्रमुख विमल आचार्यले जानकारी दिए । 

मेचीनगरको वडा नं १, ४, ५, ६, ७ र १५ भारतसँग जोडिएको छ । सीमा क्षेत्रको लम्बाइ ३२ किलोमिटर रहेको छ । सिमानामा मेची नदी रहेको छ । सो क्षेत्रमा नेपाल र भारतलाई छुट्याउने २ सय २१ वटा सीमास्तम्भ स्थापना गरिएका थिए । अनुगमनका क्रममा एक सय ४८ स्तम्भ मात्र फेला परेको नगरप्रमुख आचार्यले बताए । 

नगरपालिकाले जनप्रतिनिधि, सशस्त्र प्रहरी र सञ्चारकर्मीसहितको टोलीसहित भारतसँगको सीमा अनुगमन गरेको हो। सीमा क्षेत्रको वर्तमान अवस्था र हराएका सीमास्तम्भका बारेमा नेपाल सरकारलाई जानकारी गराइने उनले बताए। 

मेची नदीमा आएको बाढी वा अरु के कारणले सीमास्तम्भ हराएका हुन् भनेर नेपाल सरकारले नै खोजी गर्नुपर्ने स्थानीय जनप्रतिनिधि बताएका छन् ।