झापा । 

दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका महाभारा क्षेत्रका कृषकलाई लक्षित गरि प्रदेश सरकारले साना किसान कृषि सहकारी मार्फत कृषि उपज बैँक गोदाम घर निर्माण गरि सरकारको समर्थन मुल्यमै धान खरिद सुरु गरेपछि धान कृषकहरु आभान्वित भएका छन् । 

गौरीगंञ्ज गाउँपालिका १ माहाभारामा तत्कालिन भुमि व्यावस्था तथा सहकारी मन्त्रालयबाट ७२ लाख ८४ हजार ५ सय १२ रुपैँया र आधा रकम सहकारीको गरि जम्मा १ करोड ४८ लाख रुपैँयाँमा उक्त गोदाम घर निर्माण गरिएको हो । उक्त  खाद्यान्न गोदाम घरको प्रदेश १ का कृषि मन्त्री झलकसिंह दर्लामीले शनिवार  उदघाटन गरे ।

यसअघि कृषकहरुको धान मकै लगायातको  कृषि उपजको एकिन मुल्य नपाउदा व्यापारीलाई सस्तैमा आफ्नो उत्पादन बिक्री गर्नुपरेको साना किसान सहकारी संस्था महाभाराका अध्यक्ष तिलचन्द्रसिंह  राजवंशीले बताए । हाल गोदाम घरमा कृषकहरुबाट खरिद गरिएको २० हजार मन धान समर्थन मुल्यमै खरिद गरि सकिएको राजवंशीले बताए । सरकारको सहयोगमा निर्माण गरिएको गोदाम घरमा ३५ हजार मनसम्म खाद्यान्न संञ्चित गरेर राख्न सकिने समेत राजवंशीले बताए ।

अहिलेपनि गाउँमा आफुले उत्पादन गरेको धान ९ सय ८० रुपैँयाँको दरले व्यापारीलाई बिक्री गर्नु परेकोमा साना किसानले आफ्नो धान ११ सय रुपैँयासम्ममा खरिद गरि दिएर ठुलो राहत मिलेको स्थानीय कृषक खेम राजवंशीले बताए । साना किसान सहकारीमा हाल ८ सय ४० कृषक शेयरधनी रहेका छन् । 

कृषकको खाद्य गोदाम घरको उदघाटन गर्दै प्रदेशका कृषि मन्त्री झलकसिंह दर्लामी मगरले अव कम्तीमा कृषकहरु यस खाद्य गोदाम घरको निर्माण र कृषकको उत्पादनले उचित मुल्य पाएपछि कृषक विचौलियाबाट मुक्त भएको बताए । 

दर्लामीले हालपनि कृषक निर्वाहमुखी खेतीमै भर पर्नु परिरहेको भन्दै सरकार अव कम्तीमा सबै कृषकलाई चक्लाबन्दी खेती र व्यवसायिक हुनका लागि मद्धत गर्न लागि परेको बताए । प्रदेश सरकार यहिका कृषकहरुको पौरखमार्फत देशमै समृद्धि ल्याउने काममा अगाडि वढिरहेको उनको भनाई छ ।

कार्यक्रममा प्रदेश कृषि मन्त्रालयका प्रवक्ता तथा निमित्त सचिव राजेन्द्रप्रसाद उप्रेतीले प्रदेश १ का लागि अवको केहि दिनभित्रै २ लाख बोरा रासायनिक मल आउन लागेको जानकारी दिदै धान खेती अगाडिसम्मका लागि युरिया मल वाहेक डिएपी र पोटासको कमी नहुने जाननकारी दिए  । कार्यक्रममा कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंह लगायातले कृषकलाई प्रविधिमैत्री बनाउन सरकार लागिपरेको बताए । 

 सोही कार्यक्रमका विच वडा कार्यालयको आधा अनुदानमा कृषकहरुलाई ४० थान स्पे ट्याङ्की समेत प्रदान गरिएको थियो ।