विर्तामोड । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशिला ढकाल आचार्यले जनसंख्याको आधा हिस्सा ओगट्ने महिला राजनीतिक क्षेत्रमा अग्रसर नभएसम्म समाज परिवर्तन सम्भव नहुने बताएकी छिन् । 

नेपाली कांग्रेस झापाले आयोजना गरेको पार्टी कार्यालय विर्तामोडमा भातृ एवं शुभेच्छुक संघसंस्थाका जिल्ला प्रमुखहरुको भेलालाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसले राष्ट्रिय राजनीति र मुलुकको समृद्धिका लागि गरेका जनमुखी कार्यलाई जनस्तरसम्म प्रचार गर्न भातृ संस्था प्रमुखहरुलाई अपिल गरेकी छिन् । 

 कांग्रेस झापाका सभापति देउकुमार थेवेले आसन्न स्थानीय निर्वाचनमा एकजुट भएर लाग्न कांग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरुलाई आह्वान गरेका छन् ।

 नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले पार्टीका भातृ संस्थाका स्थानीय तहका सबै इकाइलाई चलायमान बनाएर आगामी चुनावमा पार्टीका उम्मेद्वारलाई सबै तहमा विजयी गराउनु पर्नेमा जोड दिए ।

नेपाली कांग्रेस १ नं प्रदेश सदस्य फुलवती राजवंशी, भेलामा नेपाल चिया वगान श्रमीक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङ, ट्रेड युनियन कांग्रेस झापाका सभापति यज्ञप्रताप अधिकारी, नेपाल दलित संघ केन्द्रीय सदस्य हस्त परियार, झापा सभापति दलबहादुर विक, नेपाल किसान संघ झापाका सभापति राजेन्द्र भट्टराई, नेपाल तरुण दलका सभापति गोपाल तामाङ, नेपाल महिला संघका उपसभापति चन्द्रकला भण्डारी, सचिव टिका मैनाली र उर्मिला पोखरेललगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेको कांग्रेसका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।