शिवसताक्षी ।
झापाको शिवसताक्षी नगरपालिकाको डुडामारी सिमसार क्षेत्रमा नगर प्रमुख चन्द्रकुमार शेर्माले आर्थिक चलखेल गरेको विषयमा सञ्चार माध्यममहरुमा आएको समाचारको सत्यतथ्य सार्वजनिक गर्न नेपाली कांग्रेस शिवसताक्षीले माग गरेको छ ।
जनताहरुले दुःख गरेर तिरेको करबाट देशमा विकास निर्माणका कामहरु हुने जनविश्वासलाई उक्त समाचारले दिग्भ्रमित बनाएकाले यथार्थ सार्वजनिक गर्न कांग्रेसले नगर प्रमुख समक्ष आग्रह गरेको हो ।
गत फागुन १० गते केही सञ्चार माध्यमहरुमा ‘सिमसारका नाममा मेयरले १ करोड पचाए’ शिर्षकको समाचारप्रति नेपाली कांग्रेस शिवसताक्षी नगरको गम्भिर ध्यानाकर्ष भएको भन्दै शनिवार प्रेस बिज्ञप्ती जारी गर्दै सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ ।
नगरका अध्यक्ष अशोक बस्नेतद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ‘आर्थिक बर्ष २०७५/०७६ र २०७६/७७ को बजेटबाट डुडामारी सिमसार क्षेत्र विकासका लागि २ करोड बजेट छुट्याएर नगर गौरवको योजनामा समावेश गरी पर्यटन प्रवर्धनमा ठूलो छलाङ मार्ने सपना अन्ततोगत्वा अखवारका पानाहरुमा दुर्गन्धित भएर पोतिन पुगेको छ ।’
समाचारमा उल्लेख भए अनुसार सिमसार क्षेत्रमा छुट्याइएको बजेटबाट सानातिना झारा टार्ने मात्र काम गर्नेगरी १ करोड ७० लाख रुपैयाँ ठेकेदारलाई भुक्तानी गरेको नगर प्रमुख शेर्मामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अनुसन्धान शुरु भइसकेको जानकारी आएको बताउँदै भनिएको छ समाचारको सत्यता के–कस्तो हो ? सवै नगरबासीलाई चिन्ता र चासोको बिषय बनेको बताइएको छ ।
रक्षक नै भक्षक बनेर नगरको ठूलो रकम हिनामिना गरिरहँदा अधिकार सम्पन्न नगर कार्यपालिका समितिले मौन भएको आरोप नगर कांग्रेसले लगाएका छ । त्यस्तै नगर प्रमुख सम्बद्ध पार्टी नेकपा एमालेले नगर प्रमुखको कार्य सम्पादनमा सचेत गराउन नसक्नु थप आश्चर्यको बिषय बन्न पुगेकोसमेत आरोप लगाएको छ ।
‘बन विभागको इजाजत नलिई सिमसार क्षेत्रमा बजेट विनियोजन गर्नु, निर्माण प्रक्रियाको न्युनतम मापदण्ड डिपिआर नगराई ठेक्का स्वीकृत गर्नु, निर्माण कार्यको मूल्याङ्कन नगरी बजेट निकाशा गर्नु, एउटा दुुष्चक्रको श्रुखलानै तयार भएको नेपाली कांग्रेस आरोप लगाउँदै सत्यतथ्य सार्वजनिक गर्न जोडदार माग गरेको छ ।
समाचारको सत्यतामा कुने प्रश्न चिन्ह रहेको खण्डमा सम्बन्धित निकायबाट सत्यतथ्य छानविन गर्न पर्ने बिज्ञप्तीमा उल्लेख छ । कानुनी राज्यमा नियम कानुन भन्दा माथि कोही नभएकोले कांग्रेसले नगरबासी समक्ष आफ्नो सफाई पेश गर्न साथै बिज्ञप्तीमार्फत नगर प्रमुखको ध्यानाकर्षण गराएको छ ।