- उद्धव पुरी
गोलधाप ।
झापाको हल्दीबारी वडा नं. १ का वडाअध्यक्ष त्रिलोचन सापकोटाले नेकपा एमालेका निर्वाचित जनप्रतिनिधिहरुले निर्वाचनताका गरेका प्रतिबद्धता अधिकांश पूरा गरेको बताएका छन् ।
नेकपा एमाले हल्दीबारी गाउँपालिकाका अध्यक्ष तथा वडाअध्यक्ष सापकोटाले ५ बर्षको अवधिमा एमालेबाट निर्वाचित स्थानीयतहका जनप्रतिनिधिले आ–आफ्नो स्थानीयतहमा सकेसम्म विकास कार्य गरेको अध्यक्ष सापकोटाले बताएका छन् ।
नेकपा एमालेका जनप्रतिनिधिले ५ बर्षको अवधिमा गरेका बिकास निर्माणका काम तथा अपुरा रहेका योजनाहरु सम्पन्न गर्न आगामी निर्वाचनमा जित्ने आधार बनेको वडाअध्यक्ष सापकोटाले बताए । ‘बिकासका लागि एमालेको बिकल्प छैन’ वडाअध्यक्ष सापकोटाले भने ।
हल्दीबारी १ मा जनप्रतिनिधिबाट भएका विकास निर्माणका कार्यहरु :
हल्दीवारी १ ले ५ बर्षको अवधिमा ९ किलोमिटर सडक कालोपत्रे गरिसकेको छ भने करिव ५ किलोमिटर कालोपत्रे जनजागृति मावि दक्षिण हुँदै गरेको वडा अध्यक्ष सापकोटाले जानकारी दिए । त्यस्तै वडाका सवै बाटाहरु ग्रावेल भइसकेका छन् ।
वडाअध्यक्ष सापकोटाका अनुसार गोलधाप बजार क्षेत्रमा टहरा तथा ढल निकास निर्माण सम्पन्न, खानेपानी ट्युवेल बितरण तथा सार्वजानिक शौचालय निर्माण पनि निर्माण सम्पन्न भइसकेको छ । त्यस्तै संघीय सरकारको बजेटबाट ३ वटा झोलुङ्गे पुल निर्माण भइसकेको छ । ७ वडा सूचना केन्द्र वाइफाईसहित निर्माण भइसकेको छ भने नुनथला कभरहल निर्माण हुँदै गरेको छ ।
उनले महिला, दलित, आदिबासी, जनजाती, विपन्न परिवारलाई विभिन्न सीपमुलक तालिम प्रदान गरेर आत्मनिर्भर बनाएको बताए । बार्षिक रुपमा खेलकूद र खेलकूद सामाग्री वितरण गरेको, टोल स्तरिय फुटबल खेल, सोलारबत्ती, सुधारिएको चुलो र विद्युतिय चुलो वितरण गरेकोसमेत जानकारी दिए ।
शहिदगेट र स्तम्भ निर्माण, सोलार तथा सडकबत्ती जडान, वडाका विपन्न परिवारका २०÷२५ घर निर्माण, सामुदायिक बिद्युत क्षेत्र भन्दा बाहिर बिद्युत विस्तार, कल्भर्ड तथा कच्वे निर्माण, बिभिन्न स्थानमा ह्यमपाइप जडानलगायतका कार्य गरेको उनले जानकारी दिए ।
त्यस्तै स्वास्थ्यका लागि नयाँ भवन निर्माण गरी निःशुल्क प्रथामिक उपचार, स्वास्थ्य शिविर सञ्चालन, ल्याव सञ्चालन, खानेपानी सञ्चालन, स्वास्थ्य स्वयम सेविकालाई प्रोत्साहनलगायतका स्वास्थ्य सम्बन्धि क्रियाकलाप गरेको वडाअध्यक्ष सापकोटाले बताए । १५ शैयाको अस्पताल निर्माण हुँदै, त्यसैगरी कोभिड–१९ महामारीमा नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर सचेतनामुलक अभियान सञ्चालन, घरघरमा पुगेर राहत वितरण र खोप कार्यक्रम ब्यवस्थित तरिकाले सञ्चालन
कृषकलाई कुषि औजार बितरण, पशु सुत्केरी भक्ता, नक्सल सुधार, दलितलाई गाईको बाछा तथा बाख्राको पाठा, ३ सय ६२ थान बोरिङ वितरण, फलफुलको बिरुवा बितरण तथा कृषिमा उल्लेखीय कार्य गर्ने कृषकलाई सम्मानलगायतका कार्य गरेको उनले बताए ।
त्यस्तै शिक्षा कार्यक्रम अन्तरगत वडाका सवै सामुदायिक बिद्यालयका कम्प्युटर कक्षा सञ्चालन गर्न कम्प्युटर वितरण, कम्प्युटर शिक्षक र आवश्यक शिक्षकको व्यवस्थापन, बालबालिकालाई टिफिनक्यारी वितरण, बाल शिक्षिकालाई क्षमता अभिबृद्धि तालिम, खाजा घर र शौचालय निर्माण समेत गरेको वडा अध्यक्ष सापकोटाले बताए । त्यसैगरी हात्ती आतङ्क नियन्त्रण गर्न टर्चलाईट बितरण समेत गरिएको बताइएको छ ।
केही अपूरा तथा थप विकास निर्माणका कार्य पूरा गर्न पनि आगामी बैशाख ३० गते हुने निर्वाचनमा एमालेका जनप्रतिनिधिको आवश्यकता रहेको उनको भनाई छ ।