काठमाडौं ।

 नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले  यथास्थितिमा एमसिसी पास गर्ने पक्षमा नभएको बताएका छन् ।

उनले पार्टीले एमसिसीको विपक्षमा उभिने निर्णय गरिसकेको बताउँदै नेपाली कांग्रेस पनि सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध उभिने भएपछि अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदमा टेबल गर्न दिएको खुलासा गरेका हुन्। 

पार्टी बागमती प्रदेश कमिटीको बैठकमा प्रचण्डको भनाई उधृत गर्दै एक नेताले एमसिसीबारे पार्टीको धारणा स्पष्ट भएको बताएका छन्।  हामीले अगाडि बढाउन नदिने अडान राखेपछि कांग्रेसले एमालेसँग मिलेर सभामुख विरुद्ध उभिने भएपछि टेबल गर्न दिएको उनको भनाई थियो ।  

उनले चुनावअघि एमसिसी रोक्ने प्रयास गरेपनि नसकिएको बताए। प्रचण्डले एमसिसी पारित हुने अवस्था आए पार्टी सरकारमा बस्न नसक्ने बताएका छन् । उनले पार्टीले पनि त्यो निर्णय गरिसकेको बताउँदै पार्टी एमसीसीको विपक्षमा भएको स्पष्ट पारेका छन् । 

प्रचण्डले एमसिसीलाई लिएर गठबन्धन तोड्ने  प्रयास गरेको भएपनि त्यसलाई जोगाउने प्रयास भइरहेको बताएका थिए।