विर्तामोड ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल चिन र अमेरिका कुनै पनि राष्ट्रको पक्षमा नउभिने स्पष्ट पार्दै सबै देशको लगानीलाई स्वागत गर्ने बताएका छन् ।
सि.के. चिन्तन प्रतिष्ठान झापाको आयोजनामा सि.के. प्रसाईंको २८ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सैन्य रणनीति बाहेकका सबै मुलुकको सहयोग स्वीकार गर्ने स्पष्ट पारेका हुन् ।
कांग्रेसले सरकार हुँदा पनि नहुँदा पनि एमसिसिबारे स्पष्ट धारणा राख्दै आएको बताउँदै शर्माले एमसिसिबारे नबुझी विरोधमा उत्रिएर उग्र राष्ट्रवाद प्रदर्शन नगर्न समेत सम्बन्धित सबैमा आग्रह गरे ।
‘बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा निवेदन हालेर एमसिसिको प्रक्रिया अघि बढेको हो’–शर्माले भने ‘प्रक्रिया अघि बढाउँदा भिम रावल र नारायणकाजी श्रेष्ठहरु पनि सरकारमा हुनुहुन्थ्यो ।’
‘एमसिसिलाइ अहिले राष्ट्रघातको रुपमा हेरिएको बताउँदै अबको २० बर्षपछि राष्ट्रिय आम्दानीको दर्विलो स्रोत हुने शर्माले बताए । एमसिसिको सहयोगबाट विजुली उत्पादन र ट्रान्समिसन लाइन बन्ने उनको भनाई थियो ।
अन्तर्राष्ट्रिय सन्धि सम्झौता निश्चित फरम्याट अनुसार हुने उल्लेख गर्दै नेता शर्माले एमसिसि पनि सोही फरम्याट अनुसार नै भएको उल्लेख गरे। उनले देशको समृद्धि, विकास र समुन्नतिका लागि सिके प्रसाईको शालिनता र सिद्धान्तप्रतिको निष्ठालाई अवलम्बन गर्नु पर्नेमा जोड दिए ।