काभ्रे ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने बताएका छन्। बनेपास्थित नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा सोमबार साँझ नेता, कार्यकर्तासँगको भेटघाटमा केन्द्रीय निर्देशनले स्थानीय तहको निर्वाचनमा कुनै असर नगर्नेसमेत दाबी गरे।
केन्द्र निर्देशित गठबन्धनले स्थानीय निर्वाचनमा अपेक्षित उपलब्धि प्राप्त गर्न निकै गाह्रो हुने उनको भनाई थियो । निर्वाचन सरकारले तोकिएकै समयमा हुने बताउँदै कसैले हुन्न भन्ने हल्लाको पछि नलाग्ने आग्रह गरेका छन् ।
नेता थापाले टोल समितिले पार्टी बलियो हुने बताए। पार्टी सङ्गठनको सबैभन्दा तल्लो निकाय टोल समिति रहेकाले सबैभन्दा बलियो बनाउनुपर्ने उल्लेख गर्दै टोलटोलमा कांग्रेसको समिति बनाएर पार्टीलाई बलियो बनाउन निर्देशन समेत दिएका छन्।
नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले फागुन १ गतेदेखि वडास्तरमा सङ्गठन विस्तार अभियान सञ्चालन गरिरहेको छ । ७ गतेसम्म सङ्गठन विस्तार अभियानअन्तर्गत वडास्तरमा भातृ सङ्गठन विस्तार, सदस्यता वितरण तथा टोल समितिसमेत गठन गर्ने जनाइएको छ ।