- उद्धव पुरी
बिर्तामोड ।
प्रदेशसभा सदस्य तथा प्रदेश न १ का कृषिमन्त्री झलक सिंह दर्लामी ‘सन्देश’ले नेकपा (माओवादी केन्द्र) ले २०५२ फागुन १ गते शुरु गरेको जनयुद्धले बोकेका र उठान गरेका एजेण्डाहरुले मुलुक चलिरहेको बताएका छन् ।
बिर्तामोडमा शनिवार साँझ भएको २७ औं जनयुद्ध दिवस अवसरमा दीप प्रज्वलन कार्यक्रमको उद्घाटन कृषिमन्त्री दर्लामीले बर्ग सघर्ष एवम् विचार संघर्षको क्षेत्रमा पार्टी जीवन तथा राष्ट्रिय क्षेत्रमा नयाँ उथल र आधीमय प्रकारको उथलपुथल सिर्जना गर्दै जनयुद्धले बोकेका र उठान गरेका एजेण्डाहरुले मुलुक चलिरहेको बताएका हुन् ।
उनले यति उपलब्धी मात्र पूर्ण नभएको बताउँदै थप उपलब्धी हासिल गर्नका निम्ति सघर्ष गरेर अघि वढिरहेको र बढ्नु पर्नेमा जोड दिए । ‘यहाँ सम्म आइपुग्नको निम्ति हजारौ नेपाली आमाका छोराछोरीले सहादत प्राप्त गरेका छन्’ मन्त्री दर्लामीले भने ‘थुप्रै वेपत्ता भएका छन्, जेल यात्रा खेपेका छन्, घाइते भएका छन् ।’ उनले सम्पूर्ण सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते योद्धाहरुको शिघ्र स्वास्थ्य लाभको कामना र वेपत्ता योद्धाहरुप्रति सम्मान जनाएका छन् ।
दीप प्रज्वलन कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश नं. १ सदस्य सीपी कडरिया, ज्योतिसिंह दर्लामी, राजु आचार्य अग्नि, निर्मला खतिवडालगायत नगरका सयौंको संख्यामा नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो । फागुन १ गते जनयुद्धको सन्दर्भ पारेर पूर्व सन्ध्यामा माओवादी केन्द्रले झापा बिर्तामोडसहित विभिन्न स्थानमा दीप प्रज्वलन गरेको छ । दीप प्रज्वलन कार्यक्रमको सञ्चालन बिर्तामोड नगर इन्चार्ज युवराज दाहालले गरेका थिए ।
२७ औं जनयुद्ध दिवस भएकाले प्रत्यक नगर, क्षेत्र, वडा र टोल कमिटीले २७ वटा दीप प्रज्वलन गरेको जनयुद्ध दिवस मनाएका छन् । त्यसैगरी बिर्तामोड–४ ले पनि विभिन्न टोल–टोलमा २७ वटा दीप प्रज्वलन गरेर जनयुद्ध दिवस मनाएको पार्टीका झापा सचिवालय सदस्य बासु दुलालले जानकारी दिए । कनकाई नगरपालिका, बुद्धशान्ति गाउँपालिकासहित झापाका १५ वटै स्थानीयतह अन्र्तरगतका वडा तथा टोल–टोलमा जनयुद्धको अवसरमा दीप प्रज्वलन गरिएको छ ।
त्यस्तै जनयुद्धकै अवसर पारेर पार्टीको दमक नगर कमिटीको संयोजनमा भोली फागुन १ गते बिहान ८ बजे अखिल क्रान्तिकारीको आयोजनामा दमक क्याम्पसमा रक्तदान कार्यक्रम, बिहान १० वजे अखिल क्रान्तिकारीको नेतृत्वमा आधारभुत पत्रकारिता तालिम उद्घाटन, बिहान ११ बजे पार्टीको संयोजनमा पार्टी कार्यालयमा अखिल नेपाल सुकुम्बासी संघको नगर भेला र बेलुका ५ बजे पार्टीको आयोजनामा दमक चोकमा दिप प्रज्ववलन कार्यक्रम गर्ने भएको छ ।