दमक । 

 नेकपा (माओवादी केन्द्र) दमकले आफ्नो एक वर्षे कार्ययोजनाअनुसार सुकुम्बासीको समस्या समाधानमा चासो दिएको छ । नगर समितिले सोमबार दमकका सुकुम्बासी प्रतिनिधिसँग छलफल गरेर उनीहरुको समस्या सुनेको हो । पार्टीले दशवटै वडाका सुकुम्बासी अगुवाले नगरभित्रका सुकुम्बासीको समस्या राखेका थिए । 

समस्या राख्दै सुकुम्बासी अगुवा शान्तिकला वञ्जराले दमक नगरपालिकामा एमाले सरकारले नेतृत्व पाएपछि सुकुम्बासीले दुःख मात्र पाएको बताइन् । ‘एमालेले नगरमा जितेपछि त सुकुम्बासीका दुःखका दिन आए । सुकुम्बासीलाई त्रास नै त्रासमा राखियो,’ उनले भनिन्, ‘धेरै सुकुम्बासीका घरमा डोजर चलाइयो ।’ 

सुकुम्बासीका गुनासा सुन्दै माओवादी केन्द्र दमकका इञ्चार्ज बेदु गौतमले समस्या समाधानमा माओवादी लागिपर्ने बताए । उनले सुकुम्बासीलाई समस्या आउँदा माओवादीले विगतदेखि नै आवाज उठाउँदै आएको बताए । ‘सुकुम्बाुसीलाई पर्दा सधैँ हामी सतिशाल झै खडा हुन्छौँ । सुकुम्बासीको समस्या हाम्रो पार्टीको पािन समस्या हो,’ उनले भने, ‘विगतमा नगरपालिकाले सुकुम्बासीको घरमा डोजर चलाउँदा हामी अग्रपंक्तिमा आएर यसको विरोध ग¥यौँ । विज्ञप्ति निकाल्यौँ, नगरसँग बारम्बार छलफल ग¥यौँ । तर, मेयरसाबले समस्या समाधानमा वास्तै गर्नुभएन । नगरमा हाम्रो सरकार नहुँदा केही चुनौती भयो ।’ 

विगतमा सुकुम्बासीलाई संरक्षण दिएर माओवादीले नै बस्ती बसाएकाले उनीहरुको संरक्षण गर्नु माओवादीको दायित्व भएको इञ्चार्ज गौतमले बताए । ‘माओवादी नभएको भए यी सुकुम्बासीलाई उहिल्यै लखेट्थे । हामीले नै सुकुम्बासी राखेका हौँ । हामी नै संरक्षण गछौँ । हामी नै जग्गा धनी बनाउँछौँ,’ उनले भने । 

माओवादीको वर्गीय धरातल सकुम्बासी, मजदुरहरु भएको बताउँदै उनीहरुको समस्यामा सँगसँगै भएर अघिबढ्ने माओवादी केन्द्र दमकका अध्यक्ष रवि बस्नेतले बताए । सुकुम्बासीसँगको यो छलफल माओवादी दमकको एक वर्षे कार्ययोजना ‘जहाँ समस्या, त्यहाँ माओवादी’ अन्तर्गत छलफल गरिएको उनले बताए । ‘माओवादीको मुख्य एजेन्डा भने कै गरिब, सुकुम्बासी तथा मजदुर हुन् । विगतमा हामी हाम्रो वर्गसँग केही टाडा भएका हौँ । तर, अब हामी हाम्रो वर्गसँग सँगै भएर लड्छौँ,’ उनले भने, ‘उनीहरुका हरेक समस्याको सारथि भएर उभिनेछ माओवादी ।’ 

कार्यक्रममा नगर सहइञ्चार्ज शंकर बस्नेतसहित नगर पदाधिकारीको उपस्थिति थियो । माओवादी केन्द्र दमकले फागुन १ गते जनयुद्ध दिवसको दिन सयौँ सुकुम्बासीको उपस्थितिमा अखिल नेपाल सुकुम्बासीसँग दमक नगरको वृहत्त भेला आयोजना गर्ने जनाएको छ ।