दमक । 

नेकपा माओवादी केन्द्रका इमान्दार नेता हुन्, बेदु गौतम । पार्टीको तल्लो कमिटीबाट संघर्ष गर्दै र पार्टी निर्माणमा खटिँदै आएका गौतमले नेकपा माओवादी केन्द्र दमकको इञ्चार्जको जिम्मेवारी पाएका छन् । जनयुद्धका समयमा विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)बाट माओवादी आन्दोलनमा जोडिएर निरन्तर पार्टी राजनीतिमा छन्, गौतम ।

०५६ मा अखिल (क्रान्तिकारी) तत्कालीन झापा क्षेत्र नम्बर ६ को सहसचिवको जिम्मेवारी पाएका उनी ०५८ मा पार्टी राजनीतिमा आएका थिए । पार्टीको क्षेत्रीय समिति, जिल्ला समिति, कोचिला राज्य समिति हुँदै अहिले पार्टी दमकको इञ्चार्ज भएका हुन् । उनले पार्टीको दमक नगर अध्यक्ष र सहइञ्चार्जको जिम्मेवारी कुशलतापूर्वक पूरा गरेका छन् । 

माओवादीलाई दमकमा स्थापित राजनीतिक दल बनाउन पाएको जिम्मेवारीलाई पूरा गर्दै आएका गौतमलाई इञ्चार्ज भएसँगै आउँदै गरेका तीन तहका निर्वाचनमा पार्टीलाई विजयी गराउने चुनौती पनि छ । तर, पार्टीलाई मजदुर, सुकुम्बासी तथा गरिब, युवा र सबै क्षेत्रसँग जोड्दै माओवादीलाई दमकमा एक नम्बर पार्टी बनाउन रातदिन लागिपर्ने उनले बताए । उनले पार्टीको आन्तरिक एकतालाई बलियो बनाएर पार्टी अघि बढाउने बताए ।

‘पाएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्नेछु । सबैभन्दा पहिला पार्टीको आन्तरिक एकतामा ध्यान दिन्छु । जनताधका समस्यामा लाग्नेछु । जनताका समस्या समाधान गर्नु मेरो पहिलो प्राथमिकता हुनेछ,’ गौतमले भने । उनले पार्टीको दमक नगर समितिलाई चलायमान बनाएर अघि बढ्ने प्रतिबद्धता जनाए । 

गौतम पार्टीभित्र विवादरहीत, निश्कलंक, अनुशासित नेता मानिन्छन् । इञ्चार्ज गौतम आउने स्थानीय तहको निर्वाचनमा दमक नगरप्रमुखका लागि चर्चामा रहेका पात्र पनि हुन् । 

गौतम इञ्चार्ज भएर आएसँगै पार्टीको योजना कार्यन्वयनमा थप बल पुग्ने दमक नगर अध्यक्ष रवि बस्नेतले बताए । ‘हामीले सोचेजस्तै इञ्चार्ज पाएका छौँ । अहिलेसम्म उहाँले सहयोग गर्नुनै भएको छ । अब उहाँ इञ्चार्ज हुँदा धेरै काम गर्न सकिने अपेक्षा छ,’ बस्नेतले भने ।