झापा । 

सहिद दिवस देशका लागि ज्यान आहुति दिने सहिदहरूको सम्झनामा मनाउने गरिन्छ । नेपालमा माघ १६ गतेलाई सहिद दिवसको रूपमा मनाइदै आइएको छ । राणा शासन बिरूद्ध लडेका सहिदहरूको सम्झनामा प्रत्येक माघ १६ सहिद दिवस मनाउन थालिएको हो।

माघ १६ गतेलाई सहिद धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री लगायतका सहिदहरूको सम्झना गर्ने गरिन्छ । नेपालका पहिलो सहिद भनेर लखन थापालाई लिने गरिन्छ । अघिल्ला बर्षमा आजको दिन देशभर सहिदको सम्झनामा विभिन्न कार्यक्रम आयोजना हुने गरेका थिए । तर, २ बर्षदेखि कोरोना भाइरस महामारीका कारण सरकारले ठूलो भिडभाड गर्न रोक लगाउँदै आएकाले थोरैको उपस्थितिमा स्वास्थ्यको मापदण्ड पालन गर्दै सहिदको सम्झना गर्ने गरिएको छ ।  

पछिल्लो समय जोसुकैलाई सहिद घोषणा गरिएको भन्दै विरोध हुने गरेको छ । कुनै घटना वा दुर्घटनामा परेकालाई पनि सहिद घोषणा गरिँदा देशका लागि जीवन आहूति दिनेको अपमान भएको भन्दै विरोध हुने गरेपनि सहिदको स्पष्ट मापदण्ड छैन । घोषणा गरिएकै सहिदका विषयमा पनि विभिन्न टीकाटिप्पणी हुने गरेका छन् ।

सहिद घोषणाका लागि राजनीतिक दलका बीचमा प्रतिस्पर्धा चल्ने गरेको देखिन्छ । सहिदको परिभाषा स्पष्ट गर्न र सूची तयार पार्न दुई आयोग गठन भएपनि चित्तबुझ्दो काम हुनसकेको छैन ।