- उद्धव पुरी
बिर्तामोड ।
संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष सञ्जुहाङ पालुङ्वाले प्रदेश नंम्बर १ को नामाकरण आन्दोलनको झिल्को बन्ने बताएका छन् । उनले प्रदेश नं. १ को नामाकरणको सवाल ठट्टाको विषय नभएको बताउँदै उनीहरुको नैतिकतासँग जोडिएको बताएका छन् । ‘१ नं. प्रदेशको नामकरण आन्दोलनको झिल्को नबनोस्’ अध्यक्ष पालुङ्वाले भने ‘नामकै बिषयलाई लिएर मुलुक अर्को द्धन्द्धमा नफसोस् ।’
संघीय लिम्बुवान पार्टी नेपालले झापाको बिर्तामोडमा शनिवार आयोजना गरेको पत्रकार भेटघाटका क्रममा अध्यक्ष पालुङ्वाले वि.स.१८३१ मा लिम्बुवान र नेपाल सरकार (तत्कालीन गोर्खा) बीच भएको सन्धीले नेपालको मान चित्रमा लिम्बुवान एक सह–राज्यको रुपमा स्पष्ट पारेको बताएका छन् ।
अर्का नेता वीर नेम्वाङले लिम्बुवानको आन्दोलन भूमिमुक्ति भएको बताउँदै जातीय आन्दोलन नभएको स्पष्ट पारेका छन् । ‘लिम्बुवान आन्दोलनलाई जातीय आन्दोलनको दलदलबाट अगल गर्नुपर्छ’ नेता नेम्वाङले भने’ जातीय आन्दोलनको विरोध गर्नुपर्छ ।’ उनले प्रदेश नं. १ खारेज गरेर अरुणपूर्वका ९ जिल्लालाई लिम्बुवान घोषणा गर्नुपर्ने माग गरेका छन् । उनले लिम्बुवान राज्य नदिए डरलाग्दो अवस्था आउन सक्ने चेतावनी समेत दिएका छन् ।
उनले नेपालको संविधान उत्कृष्ट भनेर प्रचार भएको बताउँदै भने ‘लिम्बुवान विनाको संविधान के को उत्कृष्ट ?’ उनले संविधान खारेज नगर्न आग्रह गर्दै संसोधन गर्नु पर्नेमा जोड दिए ।
पत्रकार भेटघाटका क्रममा वितरित विज्ञप्तीमा भनिएको छ ‘भूमिलाई १८३१ को संन्धी ५ बुँदे सहमतिको आधारमा याख्या, थाम्फु, लोहरुङ, आठपरिया, लेप्चा, कोच, धिमाललगायतको बिशेष स्वायत्त क्षेत्रसहित आत्मनिर्णयको अधिकार सम्पन्न लिम्बुवान स्वायत्त राज्य स्थापना हुनुपर्ने स्पष्ट धारण रहेको छ ।’ त्यस्तै लिम्बुवानको आन्दोलन ऐतिहासिकता, पहिचान र अस्तित्व समाप्त हुने लिम्बुवान जनताको भावना विपरितको प्रस्तावित किराँत सगरमाथा, किराँत लिम्बुवान, लिम्बुवान किराँत, खम्बुवान, शेर्पा जस्ता नामकरणलाई पार्टीले अस्विकार र कडाईका साथ प्रतिवाद गर्ने विज्ञप्तीमा जनाइएको छ ।
कार्यक्रममा संघीय लिम्बुवान पार्टी नेपालका उपाध्यक्ष भिम खत्रीले आफ्नो भनाई प्रस्तुत गरेका थिए । कार्यक्रममा डा. डम्बर आङ्देम्वे, युवा नेता मित्र लिङ्देनलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव लासिम पालुङ्वाले गरेका थिए ।